एजेन्सी। युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर हंगेरीले विरोध जनाएपछि रुसी तेल आयातको दुई तिहाइभन्दा बढी कटौती गर्ने सहमति भएको हो ।हंगेरीको असहमतिका कारण यस विषयमा ईयूका नेताहरुबीच घण्टौं छलफल चलेको थियो । अन्ततः हंगेरी पनि सहमत भएपछि यही वर्षको अन्तसम्ममा ईयूले करिब ९० प्रतिशत रुसी तेल आयात कटौती गर्ने बीबीसीले जनाएको छ ।
तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको छ ।युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ट्वीट गर्दै तेल कटौतीको सहमतिबारे जानकारी दिएका छन् र उनले रुसको ठूलो वित्तीय स्रोत बन्द गरिदिएको उल्लेख गरेका छन् । यसबाट रुसलाई युद्ध रोक्न दबाब पुग्ने उनको भनाइ छ ।
यो निर्णय ब्रसेल्समा भएको बैठकले अनुमोदन गरेको प्रतिबन्धको छैटौं प्याकेज अन्तर्गतको रहेको बीबीसीले जनाएको छ । यो निर्णयमा सबै २७ सदस्य देशहरुले सहमति जनाएका थिए ।प्रतिबन्धको यही छैटौं प्याकेज अन्तर्गत रुसको सबैभन्दा ठूलो बैंक स्बर बैंकको स्विफ्ट सिस्टमबाट पनि हटाइने छ । साथै सरकारी स्वामित्वका तीन वटा प्रसारकलाई पनि प्रतिबन्ध लगाइने छ । अनलाइनखबरबाट