काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिलाई संसदीय समितिको अपमान गरेको भन्न नमिल्ने बताउनुभएको छ ।
समिति सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्री अनुपस्थित हुँदा अपमान गरेको महसुस भएको बताएपछि कांग्रेस सांसदहरुले देउवाको बचाउ गर्नुभएको हो । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गर्नुभयो।
‘अपमान’ भन्ने शव्द उचित नभएको बताउँदै उहाँले भन्नुभयो, ‘हामीले बोलाउँदा उहाँ आउनुपर्छ । तर प्रधानमन्त्रीको समय के भयो त्यस आधारमा बुझ्नुपर्छ ।’ अपमान नै भन्ने शब्द प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो । नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताउनुभयो । अनलाइनखबरबाट