काठमाडौँ । कानुन व्यवसायी भीमार्जुन आचार्यले प्रहरी महानिरीक्षक नियुक्तिमा कार्यसम्पादन मूल्यांकन हेर्न नपर्ने प्रस्ट पार्नुभएको छ । प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको नियुक्ति खारेजीको माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा प्रतिवादीका तर्फबाट बहस गर्दै आचार्यले यस्तो बताउनुभएको हो ।
‘विश्वराज पोखरेलले मेरो कार्यसम्पादन मूल्यांकन धेरै छ भन्नु भएको छ, तर त्यो चाहिँदैन,’ आचार्यले भन्नुभयो, ‘पोखरेलमा म ज्येष्ठ भएकाले मै हुनुपर्छ भन्ने जबरजस्तीपना छ । एक दिन एआईजी भएको व्यक्ति पनि आईजी बन्न योग्य हुन्छ ।’उहाँले प्रहरी महानिरीक्षक नियुक्तिमा वरिष्ठता एक आधार हो भए पनि त्यो नै सम्पूर्ण आधार नभएको दाबी गर्नुभयो । ‘कानुनले तोकेको अधिनमा रहेर सरकारले नियुक्ति गर्न नपाएपछि शान्तिसुरक्षा कसरी कायम गर्न सक्छ त ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारले धिरजलाई उपयुक्त देखेपछि विश्वलाई नियुक्त गर्छ त श्रीमान् ?’
प्रहरी महानिरीक्षक (आईजीपी) अंकको आधारमा होइन, उपयुक्तताको आधारमा नियुक्त हुने उहाँको तर्क छ । ‘निवेदकले आईजीपी हुन पाउनु वैध अपेक्षा हो भन्नुभएको छ । वैध अपेक्षाको सम्बन्ध क्रियाकलाप र कर्मसँग जोडिन्छ,’ उहाँले भन्नुभयो, ‘एसएसपीबाट डीआईजी हुँदा वैध अपेक्षा खै त ? वीरेन्द्र बस्याललाई क्रस गरेर उहाँ डीआईजी हुनु भएको हो, त्यो बेला बस्यालको अपेक्षा खै त ? विश्वराजले अहिले वैध अपेक्षा भन्नु लज्जाको विषय हो ।’प्रहरीमा बस्दा प्रहरीको मूल्य, मान्यतालाई पालना गर्नुपर्ने आचार्यको भनाइ छ । ‘बिदा अस्वीकार भएपछि उहाँ नजानु उहाँको अटेरीपना हो,’ उहाँले भन्नुभयो । रातोपाटीबाट