म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७, संगमचोक स्थित व्यवसायी सुविन श्रेष्ठले बुधबार जन्मदिनको अवसरमा बिरामीको उपचार र बालबालिकालाई सहयोग गर्नुभएको छ ।म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका श्रेष्ठले बिरामी, असाहय बालक र बालगृहलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । श्रेष्ठले विगतमा पनि यसरीनै जन्मदिन मनाउने गर्दै आउनुभएको छ ।
फोक्सोको क्यान्सरबाट थलिएको रघुगंगा गाउँपालिका–१, बेगखोला घर भई हाल बेनी नगरपालिका–८, शिक्षामार्गमा बस्ने दूधकुमारी शेरपुञ्जा (दुर्गा मगर)को उपचारका लागि दश हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी बेनी सामुदायिक माविको कक्षा १ मा अध्ययनरत असाहय बालक निमेश खड्काको पठनपाठनमा पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहका बालबालिकाहरुको लागि पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी घाटिको खाने नलिमा क्यान्सर भई पोखरा जेएमसी अस्पतालमा उपचाररत बेनी नगरपालिका–६, जमुनाखर्ककी देवी कुमारी शाहीलाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।