म्याग्दी क्याम्पसमा राष्ट्रिय गोष्ठी हुँदै

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा पहिलोपटक राष्ट्रिय गोष्ठी हुने भएको छ । उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानात्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी आयोजना गरिने भएको हो । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा यही साउन ३२ गते र भदौं १ गते क्याम्पस प्राङ्गनमा हुने गोष्ठीमा सम्रग उच्च शिक्षाका क्षेत्रमा केन्द्रित हुने बताइएको छ ।

शुक्रबार क्याम्पसको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनले उच्च शिक्षाका लागि योग्य, दक्ष जनशक्ती आपूर्ति, विकास र परिचालन सँगै स्थानीय तहमा नीति निर्माणलाई समेत सहज हुने गरी विभिन्न विषयमा केन्द्रित भएर छलफल र प्रस्तुती हुने क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले बताउनुभयो । उहाँका अनुसार धौलागिरी क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको गोष्ठीमा म्याग्दीका साथै बागलुङ, पर्वत लगायतका क्षेत्रबाट समेत सहभागि हुने छन् ।

म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानात्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ । राष्ट्रिय गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा। बाशुदेव काफ्ले, पिएन क्याम्पस पोखराका प्राध्यापक डा। मिन पुन र युजिसी नेपालका नारायण भण्डारीले सहजीकरण गर्नुुहुने छ ।गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया, उच्च शिक्षा र एआई, विद्यार्थी पलायनका विषयबस्तुमा समेत छलफल हुने छ । पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख श्रीधर सुबेदीले यो राष्ट्रिय स्तरको अनुसन्धानात्मक गोष्ठीले जिल्लाको उच्च शिक्षा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो ।

सोही अवसरमा क्याम्पस सञ्चालक समितिका सदस्य क्या. मिनबहादुर कार्कीले सामुदायिक विद्यालय र क्याम्पसमा विद्यार्थीको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गरी अबका गतिविधि केन्द्रित हुनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनमा क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुबेदी, भोलानाथ घिमिरे लगायत पत्रकारहरूको उपस्थिती रहेको थियो ब्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यवाहक अध्यक्ष हरिकृष्ण गौतमले मन्तव्य राख्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार