बेनी । म्याग्दीमा चारहजार ७ सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउन सुरु गरिएको छ । पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउनका लागी माघ २२ देखि २९ गतेसम्म जिल्लाका ६ वटै स्थानीय तहहरुमा खोप अभियान सञ्चालन गरेर एचपिभी खोप लगाउन सुरु गरिएको हो ।
जिल्लामा खोप लगाउनका लागि १०४ वटा विद्यालय र ३८ वटा स्वास्थ्य संस्था गरी एकसय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा ४ हजार ६ सय ८८ र १० देखि १४ बर्ष उमेर समूहका विद्यालय बाहिर रहेका ७३ जना किशोरी गरी चारहजार ७ सय ६१ जनालाई एचपीभी खोप दिइने तयारी भएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो ।
किशोरी र छात्राहरुलाई खोप लगाउनका लागि जिल्लाका सबै खोप केन्द्रहरुमा भ्याक्सिनेटर, महिला स्वंयमेविकाहरु परिचालन गरिएको छ । आजदेखि जिल्लाव्यापी रुपमा सुरु भएको खोप अभियानमा अनुगमनका लागि चिकित्सक, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु समेत खटिनुभएको छ ।
खोप अभियान अन्तरगत अन्नपूर्ण गाउँपालिकामा ३ सय ९७ जना, रघुगंगामा ४ सय ९५ जना, बेनी नगरपालिकामा एकहजार ८ सय ६८जना, मंगला गाउँपालिकामा पाँचसय ६४ जना,मालिका गाउँपालिकामा ८ सय २९ जना र धवलागिरि गाउँपालिकामा ६ सय ८ जना किशोरीहरुलाई एचपीभी खोप लगाउन लगाइने प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।