
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माणको प्रयास गर्न पाउने बताउनुभएको छ।
बुधवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राईले लोकतन्त्र उदार रहेको बताउनुभएको हो।
उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको र त्यो अधिकार पनि गणतन्त्रले दिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी अहिले लोकतन्त्रमा छौँ, हाम्रो लोकतन्त्र यति उदार छ । पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न प्रयास गर्न पाउँछन् । राष्ट्रिय प्रजातन्त्र पार्टी संसद्मा गणतन्त्रको विरोधमा बोलिरहेको छ । त्यो अधिकार पनि लोकतन्त्र र गणतन्त्रले दिएको हो । राजाको शासन भएको बेलामा आन्दोलन गरेका मान्छे हौँ हामी । त्यो बेलामा राजाको विरोध गर्नु ठुलो अपराध हुन्थ्यो । अहिले गणतन्त्रको विरोध गर्नु अपराध हुँदैन । जनताको बिचमा जानुस् ।’
अध्यक्ष राईले सडकबाट राजतन्त्र स्थापना गर्ने सपना देख्ने कुरा गलत भएको बताउनुभयो। रातोपाटी