सिंगापुरमाथि नेपालको पहिलो जित

  म्याग्दी न्युज संवाददाता

काठमाडौं । फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।

सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो ।

नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको लो पासलाई उनले पहिलो टचमै गोलमा परिणत गरेका थिए । जिलेस्पीको राष्ट्रिय टोलीबाट यो तेस्रो गोल हो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालले अन्य अवसर पाएपनि सदुपयोग गर्न सकेन । यता सिंगापुरले खेलको अन्तिम समयमा प्राप्त सुवर्ण अवसरमा कप्तान किरण चेम्जोङले उत्कृष्ट बचाउ गर्दै नेपालको अग्रता कायम राखेका थिए ।

प्रशिक्षक म्याट रसको पहिलो अधिकारिक खेलमा नेपालले विजयी सुरुवात गरेको हो । रसले आफ्नो डेब्यु खेलमा युवा मिडफिल्डर सुबास बम ठकुरीलाई पनि डेब्युको अवसर दिए ।

नेपालले एएफसी एसियन कप छनोट खेल्ने तयारीमा क्रममा मैत्रीपूर्ण खेल खेलको हो । अब नेपालले एसियन कप छनोटको तेस्रो चरणमा मलेसियाको सामना गर्नेछ । यस समूहमा भिएतनाम र लाओस पनि छन् । शीर्षस्थानमा रहेको टोलीले एसियन कप खेल्नेछ । सिंगापुरको समूहमा भने भारत, हङकङ र बंगलादेश छन् । सिंगापुरले पहिलो खेलमा हङकङको सामना गर्नेछ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार