म्याग्दी, ८ चैत । म्याग्दीमा ज्यान कर्तव्य मुद्दामा संलग्न एक प्रतिवादीलाई घटना भएको करिब एक महिनापछि प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अनुसन्धानको दायरामा रहेका अन्नपूर्ण गाउँपालिका–३, दानाका २२ वर्षीय प्रकाश विकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको हो ।
गत फागुन ७ गते साँझ करिब साढे ७ बजे स्थानीय २४ वर्षीय सौरब विकको गैयाभाट जंगलमा घाँस काट्ने क्रममा मृत्यु भएको प्रारम्भिक सूचना प्राप्त भएको थियो । तर, पोष्टमार्टम रिपोर्टपछि उक्त घटना हत्या भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानअनुसार मृतक विकसँगै जंगलमा गएका प्रकाश विकले टाउको तथा पछाडिबाट दाउराले प्रहार गरी हत्या गरेको खुलेको छ । घटनाका बेला अभियुक्त प्रकाश विक, मृतक सौरब विक तथा दुई नाबालक समेत जंगलमा भेडाको ऊन काट्न तथा गोठ सार्न गएका थिए । सोही क्रममा मादक पदार्थ सेवनपछि भएको विवादले घटनाले उग्र रूप लिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार घटनालाई सुरुवातमा सामान्य मृत्युको रूपमा देखाउन प्रयास गरिएको थियो । अभियुक्त र मृतकबीच पारिवारिक सम्बन्ध रहेका कारण घटनाको वास्तविकता लुकाउने प्रयास समेत भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनास्थलबाट संकलित प्रमाण, पोष्टमार्टम रिपोर्ट तथा अभियुक्तको बयान एकआपसमा मेल खाएपछि प्रकाश विकमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पोष्टमार्टम रिपोर्ट आउनुअघि नै पीडित र अभियुक्त पक्षबाट प्रमाण लुकाउने प्रयास भएको देखिएकाले घटनाको अनुसन्धानमा ढिलाइ भएको थियो । पक्राउ परेका प्रकाश विकमाथि आइतबार जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान जारी राखिएको छ ।



























