
बेनी, ३ बैशाख । मंगला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । वडा नं. ४ बरंजा, बुकेनीस्थित वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा सहभागी स्थानीयवासीहरूले विकास निर्माण कार्यलाई पारदर्शी बनाउन, योजना छनोटमा प्राथमिकता निर्धारण गर्न तथा कृषि र पशुपालनका अनुदान वास्तविक किसानसम्म पुग्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

सार्वजनिक सुनुवाइमा बुद्धि घर्तीले बजेट वितरण आवश्यकताका आधारमा समानुपातिक हुनुपर्ने बताउँदै कुनै वडामा बढी र कुनैमा कम नहोस् भन्नेमा जोड दिनुभयो । योगेन्द्रमान शेरचनले योजनाहरू सम्पन्न भई भुक्तानी लिन जाँदा लेखा र योजना शाखामा कर्मचारी नहुँदा समस्या हुने गरेको गुनासो गर्नुभयो । दमबहादुर छन्त्यालले पालिकाबाट सञ्चालन हुने योजनाहरूको भुक्तानी दिनुअघि अनुगमन अनिवार्य गर्नुपर्ने बताउँदै अनुगमनबिना भुक्तानी गर्दा कामको गुणस्तरमा असर पर्ने भएकाले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस्तै मोहनलाल सापकोटाले उपभोक्ता समितिमार्फत सम्पन्न योजनामा अनुगमन हुने तर ठेकदारमार्फत सम्पन्न कतिपय योजनामा गुणस्तर किन कायम हुन नसकेको भन्ने प्रश्न उठाउनुभयो । भरत बुढाथोकीले कृषि तथा पशु क्षेत्रको अनुदान वितरणमा एकरूपता नभएको गुनासो गर्दै योजना अनुगमनको अभावले गुणस्तरमा कमी आएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीले प्रभावकारी अनुगमन बढाउनुपर्ने तथा शिक्षा क्षेत्र सुधार र विद्यार्थी संख्या वृद्धि सम्बन्धी योजनामा ध्यान दिन सुझाव दिनुभयो ।

कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पालिकाबाट सञ्चालित योजनाहरू क्रमशः सम्पन्न हुँदै जाँदा ग्रामीण जीवनशैली सहज बन्दै गएको बताउनुभयो । उहाँले योजनामा हुने अनियमितता रोक्न स्थानीयस्तरबाट समेत अनुगमन गर्न आग्रह गर्नुभयो । साथै पालिकाले युवा लक्षित कार्यक्रम सञ्चालन गरेको र आफ्नै भवन निर्माणका लागि जग्गा प्राप्तिमा ढिलाइ भए पनि अब छिट्टै टुंगो लाग्ने जानकारी दिनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी खत्री क्षेत्रीले साना तथा ठूला सबै योजनाहरू स्थलगत अनुगमनपछि मात्र भुक्तानी गरिएको बताउँदै बजेट विनियोजन भूगोल, जनसंख्या र आवश्यकताका आधारमा कार्यपालिकाबाट पारित हुने स्पष्ट पार्नुभयो । शिक्षा शाखा प्रमुख गणेशबहादुर कटुवालले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कृषि शाखाका जगत बानियाँले अनुदानको दुरुपयोग नभएको र आवश्यकताका आधारमा समान रूपमा वितरण गरिएको गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले आगामी वर्षमा प्राप्त सुझावअनुसार उपलब्ध जनशक्तिबाट गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो । इन्जिनियर रुचेन्द्र अधिकारीले सडक स्तरोन्नतिमा प्रयोग भएका सामग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक प्रविधि र जनशक्तिको अभाव रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा नं. ४ मा समयमै काम सम्पन्न गरी गुणस्तरीय काम गर्ने उपभोक्ता समितिलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर रोकाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सहजीकरण पत्रकार राकेश शर्मा र धनिलाल गर्बुजाले गर्नुभएको थियो । कार्यक्रममा वडाअध्यक्ष, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष एकजित रोकाले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।






















































