काठमाडौं, २ असार । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य यथावत् कायम राखेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आईओसीं) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा सञ्चालक समितिको २०८३ असार १ गतेको निर्णयअनुसार सोमबार राति १२ः०१ बजेदेखि लागू हुने गरी हाल कायम रहेको मूल्यमा कुनै परिवर्तन नगरेको जनाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २१६ रुपैयाँ र तेस्रो वर्गका लागि २१७ रुपैयाँ कायम रहेको छ ।
त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर २२२ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि २२४ रुपैयाँ र तेस्रो वर्गका लागि २२५ रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्य अवस्था, भारतीय आपूर्तिकर्ताबाट प्राप्त खरिद मूल्य तथा आन्तरिक व्यवस्थापनलाई आधार मानेर मूल्य निर्धारण गर्दै आएको निगमले जनाएको छ।























