पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती

पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल–मट्टितेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घट्यो

  म्याग्दी न्यूज संवाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नुका साथै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको हो । नयाँ मूल्य बुधबार रातिदेखि लागू हुने निगमले जनाएको छ ।

निगम सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाउने निर्णय गरेको हो । यससँगै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंका लागि प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ । यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र डिजेल तथा मट्टितेल २२५ रुपैयाँ प्रतिलिटर रहेको थियो ।

त्यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १९५.५० रुपैयाँ तथा डिजेल र मट्टितेल १९२.५० रुपैयाँ कायम गरिएको छ । सुर्खेत र दाङमा पेट्रोलको मूल्य १९६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १९४ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।

आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १,५६६ अमेरिकी डलर, पोखराका लागि १,१०० अमेरिकी डलर र भैरहवाका लागि १,०८५ अमेरिकी डलर कायम भएको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि १४.२ किलोग्राम क्षमताको खाना पकाउने एलपी ग्यास अब प्रतिसिलिन्डर २,०६० रुपैयाँमा उपलब्ध हुनेछ । यसअघि उक्त ग्यासको मूल्य २,१६० रुपैयाँ रहेको थियो ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव तथा आईओसीबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार स्वचालित मूल्य प्रणालीमार्फत मूल्य समायोजन गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार