मोना बेल्जियमको भलिबल प्रतियोगितामा नेपाल युरोपियन स्पोर्ट्स क्लब च्याम्पियन

  म्याग्दी न्यूज संवाददाता

बेल्जियम । प्रवासी नेपालीहरूबीच एकता, मित्रता र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले मोना बेल्जियमद्वारा आयोजित वार्षिक भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ । बेल्जियमको एन्टवर्पमा आइतबार सम्पन्न प्रतियोगितामा युरोपका विभिन्न देशबाट आएका ११ पुरुष तथा ४ महिला टोलीले सहभागिता जनाएको मोना बेल्जियमका पूर्वअध्यक्ष घनश्याम शाही जानकारी दिनुभयो ।

अत्यन्त प्रतिस्पर्धात्मक बनेको प्रतियोगिताको उपाधि नेपाल युरोपियन स्पोर्ट्स क्लबले जितेको छ । फाइनल खेलमा नेपाल युरोपियन स्पोर्ट्स क्लबले ब्रदर्स डेनमार्क क्लब लाई पराजित गर्दै च्याम्पियन बनेको हो । ब्रदर्स डेनमार्क क्लब उपविजेतामा सीमित रह्यो ।

महिला तर्फ एभरेस्ट समाज ब्रुगे प्रथम तथा मोना एन्टवर्प द्वितीय बनेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमध्ये जीवन सुनारी ‘बेस्ट प्लेयर’, विशाल खत्री ‘बेस्ट स्पाइकर’ तथा संगम थापा ‘बेस्ट सेटर’ घोषित भएका छन् ।

प्रतियोगितामा बेल्जियम, डेनमार्क, फ्रान्स, लक्जेम्बर्गलगायत विभिन्न युरोपेली मुलुकमा रहेका नेपाली खेलाडीहरूको सहभागिता रहेको थियो । यस वर्ष नेपालको राष्ट्रिय टोलीबाट खेलिसकेका केही खेलाडीहरूको समेत सहभागिताले प्रतियोगिताको स्तर थप रोचक बनेको थियो । मोना बेल्जियमले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको यस प्रतियोगिताले विदेशमा रहेका नेपालीहरूबीच खेलकुदमार्फत सम्बन्ध विस्तार, मित्रता र एकताको भावना सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ ।

दिनभर सञ्चालन भएको प्रतियोगितापछि विजेता र उपविजेता टोलीलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको विजेता टोलीले ३ हजार युरो र उपविजेता टोलीले १ हजार ५ सय युरो पुरस्कार प्राप्त गरेका छन् । साथै उत्कृष्ट खेलाडीहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा मोना बेल्जियमका पूर्वअध्यक्ष घनश्याम शाही, शिव बरुवाल, योगेन्द्र श्रेष्ठ, सुमन थापा, प्रदीप, वर्तमान अध्यक्ष ज्ञानबहादुर रकाल लगायतले विजेता तथा उपविजेता खेलाडीहरूलाई सम्मान गर्नुभएको थियो । साथै आर्थिक तथा भौतिक सहयोग गर्ने संघसंस्था र व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष मिम पुर्जा ले गर्नुभएको कार्यक्रमको अध्यक्षता मोना बेल्जियमका अध्यक्ष ज्ञानबहादुर रकाल ले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन चन्द्र शर्मा ले गर्नुभएको थियो ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक मोना बेल्जियमका अध्यक्ष रकाल तथा प्रतियोगिता संयोजक भुवन आचार्य ले सहभागी टोली, सहयोगी संस्था, स्वयंसेवक र दर्शकप्रति आभार व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार