पाण्डबखानीको व्यस्त सिद्धथान क्षेत्रमा सडक बत्ती जडान

  सुरेश छन्त्याल

गलकोट । बागलुङको गलकोट नगरपालिका–१०, पाण्डबखानीस्थित व्यस्त तथा महत्वपूर्ण सिद्धथान क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । स्थानीयवासीको सुरक्षा तथा रातिको समयमा हुने आवतजावतलाई सुरक्षित र सहज बनाउने उद्देश्यले सडक बत्ती जडान गरिएको हो ।

सामाजिक तथा जनउपयोगी कार्यमा सहयोग गर्दै अमेरिकामा कार्यरत पाण्डबखानी निवासी दुर्गाप्रसाद काउचा र जापानमा कार्यरत लोकबहादुर आलेले संयुक्त रूपमा आर्थिक सहयोग गर्नुभएको हो । विदेशमा रहेर पनि जन्मभूमिप्रतिको माया, सद्भाव र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै उहाँहरूले सिद्धथान क्षेत्रमा उज्यालो पुर्‍याउन आर्थिक सहयोग गरेका हुन् ।

सिद्धथान क्षेत्र पाण्डबखानीको मुख्य आवतजावत हुने व्यस्त मार्गका रूपमा रहेको छ । रातिको समयमा यस क्षेत्रमा पर्याप्त उज्यालो नहुँदा दुर्घटना तथा चोरीलगायतका अवाञ्छित गतिविधिको जोखिम हुने भएकाले सडक बत्तीको आवश्यकता महसुस गरिएको स्थानीयले बताएका छन् ।

सडक बत्ती जडान भएपछि रातिको समयमा हिँडडुल गर्ने स्थानीयवासी तथा बटुवालाई समेत बाटो स्पष्ट देखिन थालेको छ । यसबाट दुर्घटनाको जोखिम न्यूनीकरण हुनुका साथै रातिको आवतजावत थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ । उज्यालोका कारण चोरी तथा अन्य अवाञ्छित गतिविधि पनि निरुत्साहित हुने स्थानीयको विश्वास छ ।

उहाँहरूको यो सामाजिक कार्यले गाउँको विकास र सुरक्षामा सहयोग पुर्‍याउनुका साथै अन्य व्यक्ति तथा प्रवासी युवाहरूलाई समेत सामाजिक तथा जनउपयोगी कार्यमा सहयोग गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार