बेनी ,मंगलबार फागुन २७ गते ।
म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा एक हप्तादेखी विद्युत उत्पादन बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहादुर घर्तीले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरको पहलमा गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयको १६ लाख रुपैयाँ सहयोगमा जलस्रोत सिंचाई विकास तथा डिभिजन कार्यालय म्याग्दी मार्फत विद्युत गृहको टर्वाइन मर्मत ,गेटबल बाहरिबाट नयाँ खरिद गर्नुपर्ने भएको,गत बर्षातको समयमा बाढीले बगाएको नहर निर्माण र मर्मत तथा ट्याङकी मर्मत गर्नुपर्ने भएकाले विद्युत आपुर्ती सेवा बन्द गर्नुपरेको बताउनुभयो ।
मर्मत कार्य सम्पन्न भएछि आगामी चैत महिनाको पहिलो हप्तादेखी विद्युत उत्पादन सुचारु हुने जानकारी दिनुभयो । २०५७ सालदेखी उत्पादन सुरु भएको ३० किलोवाट क्षमताको जलविद्युत परियोजनाबाट वडा नं ३को खतेन सहित ओखरबोट ,च्युरिबोट ,महभिर र छाप गरी करिब चार सय घरधुरीले सेवा लिदै आएका छन् । सो लघुजलविद्युत परियोजनाबाट ५५ घरधुरीले खेतीका लागि सिचाई गर्दै आएका छन् भने एक पानीमिल संचालन हुँदै आएको छ । विद्युत आपुर्ती बन्द हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् भने टिभी, कम्प्युटर मोवाइल लगायत विद्युतीय सँचार सामाग्री अवद्ध भएका छन् ।