मजदुरहरु आबद्ध क्युपेक महिलाको तीज विशेष कार्यक्रम

प्रताप बानियाँ
म्याग्दी,शुक्रबार भदौ १३ गते ।
‘क्युपेक नेपालको सरोकार, सुरक्षित कार्यस्थल र मर्यादित रोजगार’ भन्ने मूल नारासहित बिहीबार क्युपेक नेपाल जिल्ला महिला कमिटी म्याग्दीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले मजदुरहरुको पेशागत हकहित र सुरक्षाका लागि नगरपालिकामार्फत सबैखाले सहयोगहरु उपलब्ध गराइने बताइन् । उनले बेनी नगरपालिका क्षेत्रभित्र क्रियाशिल मजदुहरुको तथ्याङ्क सङ्कलन गरिने बताउँदै योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइने बताएकी छिन् । मजदुरहरुले पनि कतिपय मालिकहरुलाई ठगेको अवस्था रहेको भन्दै उपप्रमुख बरुवालले पेशाप्रति विश्वास गरेर अघि बढ्न आग्रहसहित श्रम गरेर आएको पैसालाई बचाउनुपर्ने बताइन् ।

क्युपेक नेपालको केन्द्रीय सदस्य बलादेवी राईले बेनी नगरपालिकामार्फत मजदुरहरुको दुर्घटना बीमा, परिचयपत्र उपलब्ध र घर तथा भवन बनाउँदा नक्सा पासका साथै निर्माणका क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सेफ्टीको व्यवस्था हुनुपर्ने माग गरिन् । उनले नगरपालिकाले मजदुरलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिएकी छिन् ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले सरकारले महत्वका साथ ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई स्थानीय तहले प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए । उनले मजदुरहरुको सवालमा पार्टी प्रतिबद्ध रहेकोमा जोड दिँदै आवश्यक सबैखाले सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा क्युपेक नेपालको गण्डकी प्रदेश कमिटी सदस्य शुक्ला गुरुङ, जिफन्टका जिल्ला उपाध्यक्ष राजकुमार राई र युवा कमिटी अध्यक्ष अर्जुन रानाले मन्तव्य राखेका थिए । कार्यक्रम क्युपेक नेपाल जिल्ला कमिटी अध्यक्ष महाप्रसाद राईको अध्यक्षता, महिला कमिटी सचिव पुजा छन्त्यालको सञ्चालन र ऐश्वर्य नेपालीको स्वागतमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार