फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान

बेनी,सोमबार कात्तिक १८ गते ।
यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्मान गरेको हो ।

विद्यालयद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहयोगी संस्थाकी अध्यक्ष एन्नी क्लेरी पुन र संस्थाका कार्यक्रम संयोजक रोसन पुनलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले कदरपत्रले सम्मान गर्नुभएको हो । साथै सोही अवसरमा विद्यालय सहित स्थानीयबासीले नाचगान, बाजागाजा तथा पुख्र्यौली ख्याली सोरठी नाच मार्फत स्वागत तथा सम्मान गरे ।


गाउँपालिकाका अध्यक्ष रोका मगरले सहयोगप्रति संस्थालाई धन्यवाद तथा आभार प्रकट गर्नुभयो । दुर्गम ग्रामिण भेगमा रहेको विद्यालयमा आर्थिक सहयोग गरी राज्यले गर्नुपर्ने दायीत्व संस्थाले बहन गरेको बताउँनुहुँदै गाउँपालिकाले संस्थाको हरेक कार्यक्रममा सहयोग गर्ने बताउनुभयो । सिमित स्रोत साधनका कारण विद्यालय संचालनमा स्थानीय बासीलाई ठुलो आर्थिक समस्या हुने गरेको उहाँको भनाइ छ । सहयोगलाई सही सदुपयोग गर्न अध्यक्ष रोका मगरले आग्रह गर्नुभयो ।

संस्थाकी अध्यक्ष पुनले शैक्षिक क्षेत्रमा टेवा पु¥याउन आर्थिक सहयोग गरेको बताउनुभयो । फ्रान्समा संस्थाको सदस्यता बनेबापतको साधारण सदस्यता शुल्क तथा बजारमा पुराना फलामको कवाडी बेचेर आएको आम्दानीबाट विद्यालयलाई सहयोग गरेको बताउनुभयो । नेपालको दुर्गम गाउँका गरिब विपन्न बालबालिका ,शैक्षिक क्षेत्र तथा समाज विकासमा सहयोग पु¥याउन सेवामुलक संस्थाको रुपमा सन् २००६ मा संस्था स्थापना भएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

‘विशेष गरेर नेपालको दुर्गम ग्रामिण भेगका गरिब विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न,शैक्षिक तथा समाज विकासमा टेवा पु¥याउने उद्धेश्यले सेवामुलक संस्थाको रुपमा सन् २००६ मा फ्रान्समा संस्था स्थापना गरेका हौं’ अध्यक्ष पुनले भन्नुभयो । ‘संस्थाको साधारण सदस्यता शुल्क,चाडपर्वमा संचालित कार्यक्रमबाट जुटेको सहयोग तथा नेपाली हस्तकलाका सामाग्री र पुराना फलामको कवाडीका सामाग्री बजारमा बेचेर आएको आम्दानी संस्थामा बचत गरी नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले हाल शैक्षिक ,अनाथलय लघुजलविद्युत लगायत ९ वटा संस्थालाई सहयोग गर्दै आएको छ ।’

साढे दुई सय बढी सदस्य भएको संस्थाले नेपालको सिद्धार्थ मावि च्युरिबोट ,चिमखोला सहित ९ वटा शैक्षिक ,अनाथलय, लघुजलविद्युत संस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक रोसन पुनले जानकारी दिनुभयो । यसअघि भुकम्प प्रभावित अन्नपुर्ण गाउँपालिका ५ शिखमा विद्यालय भवन निर्माण लगायत दुर्गम गाउँका विरामीलाई लक्ष्यित गरी आँखा शिविर संचालन गरिसकेको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभयो ।

संस्थाले सन् २०१४ देखी विद्यालयमा अध्यापनरत दुई शिक्षकको तलबका लागि मासिक ३५ हजार रुपैयाँ बढी सहयोग गर्दै आइरहेको छ । न्युन दरबन्दी रहेको विद्यालयमा च्युरिबोटबासीले शिक्षक व्यवस्थापनका लागि ठुलो आर्थिक समस्या झेल्दै आइरहेका थिए । माध्यामिक तहको कक्षा दश सम्म पठनपाठन हुने विद्यालयमा च्युरिबोट ,छाप ,खबाङ र महभिर गाउँका गरी करिब दुई सय जना विद्यार्थी अध्ययनरत छन् ।

च्युरिबोट घर भई हाल बेलायतमा कार्यरत क्याप्टेन लक्ष्मन पुन र उहाँकी पत्नीको पहलमा नमस्ते ईन्फान्ट डी हिमालय फ्रान्सले सन् २०१४ देखी दुई जना शिक्षकको तलबको लागि मासिक ३५ हजार रुपैयाँ बढी आर्थि सहयोग गर्दै आइरहेको विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले जानकारी दिनुभयो । कार्यक्रममा मालिका गाउँकार्यपालिका सदस्य मनरुपा घर्ति मगर ,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवम् प्रअ तमबहादुर पुन ,पुर्व अध्यक्ष झकेन्द्रमान पुन तथा संस्थाका इजावेल ,भेरोटिक ,जेरा ,मारिऐलेन ,मनकुमारी पुन लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार