नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला

काठमाडौं म‌गलबार माघ १४ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर्दै युएईले दिएको २५५ रनको चुनौती पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपाललाई २(१ ले श्रृंखला जिताउने क्रममा आजको खेलमा कप्तान पारस खड्का नायक सावित भए ।

उनले ९६ बलमा सतक प्रहार गर्दै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बने । उनले आफ्नो पारीमा १५ चौका र एक छक्का पनि हानेका थिए । पारस १०९ बलमा ११५ रन बनाएको अवस्थामा एलबीडब्ल्यु धरापमा पर्दै पेभेलियन फर्किए

पहिलो एक दिवसीय खेल तीन विकेटले गुमाएको नेपालले दोस्रो खेलमा भने उत्कृष्ट कमब्याक गर्दै घरेलु टोली यूएईमाथि एक सय ४५ रनको फराकिलो जित हात पारेको थियो । तेस्रो खेलमा पनि आफुले चाहे अनुसारकै परिणाम निकाल्दै नेपालले श्रृंखलामा कब्जा गरेको हो । पहिलो खेलमा कमजोर ब्याटिङ गरेको नेपालले दोस्रो र तेस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दा जित सम्भव भएको हो ।

श्रृंखला अन्तर्गत दोस्रो खेल जित्ने क्रममा नेपालका युवा खेलाडी रोहितकुमार पौडेलले विश्व कीर्तिमान पनि बनाए । रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान रचे ।

आजको खेलमा नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्ल ३५ बलमा ३१ रन बनाएको अवस्थामा आउट भएका थिए । त्यसैगरि अर्का ओपनर वसन्त भण्डारी १७ बलमा केबल ९ रन बनाएको अवस्थामा पेभेलियन फर्किए । त्यसैगरी दीपेन्द्र सिंह एरी १५ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

त्यसपछि नेपालका लागि सन्दीप जोरा पनि २० बलमा १९ रन बनाउँदै क्याच आउट भए । सन्दीपपछि आएका रोहित पौडेल २४ बलमा १६ रन बनाएको अवस्थामा क्याच आउट भए । त्यसपछि आएका अरिफ शेखले नटआउट रहँदै २४ बलमा २१ रन बनाए । अन्तिक्रममा आएका सोमपाल कामीले पनि नेपालको पारी जितसम्म पुर्याउन महत्वपूर्ण योगदान दिए । जितका लागि छक्का हानेका उनले २५ बलमा २६ रनको शानदार पारी खेल्दै नेपाललाई जिताए ।

युएईका लागि इमरान हैदर र असफाक अहमदले २र२ विकेट लिन सफल भए । मोहम्मद नाविद र क्वादेर अहमेदले समान १र१ विकेट लिएका थिए ।

युएईको पारी

यसअघि टस जितेर बलिङमा गएको नेपालले युएईलाई निर्धारित ५० ओभरमा पाँच विकेट झार्दै २५४ रनमा रोक्न सकेको थियो । त्यसक्रममा नेपाली बलरले उत्कृष्ट सुरुवात गरेका थिए ।

सुरुवाती दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखे । त्यसपछि तेस्रो ओभरमा नेपालले विकेट लियो । नेपालका लागि सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीको हातबाट क्याच आउट गराए ।

त्यसपछि छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शून्यको अवस्थामै विनोद भण्डारीबाट क्याच आउट गराइ पेभेलियन पठाए ।

पहिलो पावर प्ले सकिँदा नेपालले युएईलाई १४ रनमा रोकेको थियो। यो रन एक दिवसीय क्रिकेटकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम हो । पावर प्लेमा सबैभन्दा कम रनको रेकर्ड भारतले बनाएको छ।श्रीलंकाविरुद्ध एक वर्षअघि भएको खेलमा भारत १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमा समेटिएको थियो ।

युएईविरुद्ध २० औं ओभरमा सन्दीप लामिछानेले १८ रन बनाएका गुलाम साब्बरलाई एलबीडब्ल्युमा पारे । २१औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराउँदा नेपालले चौथो सफलता पायो ।

करण केसीले चुन्डोपिल रिजवानलाई ४५ रन बनाएको अवस्थामा विनोद भण्डारीबाट क्याचआउट गराएपछि नेपाललाई पाँचौ सफलता मिल्यो । पाँचौ विकेट गुमाएपछि सम्हालिएको युएईका शैमान अनवर र मोहम्मद बुताले उत्कृष्ट ब्याटिङ गर्दै खेलमा फर्काए । अनवरले ८७ रन जोड्न सफल भए भने बुताले ५९ रन बनाए।

एकदिवसीय शृंखला सकिएपछि नेपाली टोलीले यूएईसँग तीनवटा टीट्वेन्टी खेलको शृंखला खेल्ने छ । अन्नपुर्ण पोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार