राजन खत्रीको लोकदोहोरी गीत ‘छातीको देब्रे पाटोमा’ बजारमा

प्रताप बानियाँ
म्याग्दी, शनिबार माघ २६ गते । म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीका युवा तथा नवगायक राजन खत्रीले आफ्नो पहिलो लोकदोहोरीगीत ‘छातीको देब्रे पाटोमा’ बजारमा ल्याएका छन् । सारथी म्युजिक प्रालिको प्रस्तुतीमा सर्जक कस्तुप पन्तको लय तथा गायक प्रवीण खत्रीको शब्द संयोजनमा उनले गीत बजारमा ल्याएका हुन् ।

‘छातीको देब्रे पाटोमा, फुलैफुल त बिच्छ्याउन नसकुँला मायालाई काँडा परे पन्छ्याउँला हिँड्ने बाटोमा’ बोलको गीतमा नवगायक राजन खत्री र लोकदोहोरी गायिका पूर्णकला बिसीको स्वर रहेको छ । गीतमा महेन्द्र र सारीकाले अभिनय गरेका छन्भने मुकेश हुमागाईं एण्ड टिमले छायाङ्कन गरेको छ । जनता डिजिटल फिल्मस प्रालिले दृश्य निर्माण गरेको गीतमा कपिल लामाले निर्देशन, अमृत चापागाईंले सम्पादन र कविता तोलाङ्गीले श्रृङ्गार गरेका छन् । 

प्रस्तुत लोकदोहोरीगीतमा सबै टुक्का माया र पिरतीकै गाइएको गायक खत्रीको भनाइ छ । सानैदेखि गीतसङ्गीत अत्यन्त मन पराउने र गीतसङ्गीतमै रमाउने गरेका उनले पहिलोपटक लोकदोहोरीगीत बजारमा ल्याएको बताए । विद्यालय उमेर समूहदेखि नै लोकगीत, नृत्य र लोकदोहोरी प्रतियोगितामा सहभागी भई विभिन्न पुरस्कार हात पारेका उनले निरन्तर रुपमा गीतसङ्गीतको क्षेत्रमा लाग्ने बताएका छन् । 

२०४४ सालमा बुबा हिराबहादुर र आमा यामकुमारी खत्रीको कोखबाट चिप्लेटीमा जन्मिएका खत्री पेशाले वैदेशिक रोजगारीमा कार्यरत प्रवासी नेपाली हुन् । विदेशको मरुभुमी कतारमा सवारीचालकको पेशा अङ्गालेका उनले हालै घर विदामा आएको मौका छोपेर गीत निकालेका हुन् । गाउँघरमा रहँदा मेलापात, अर्मपर्म र सामाजिक तथा सांस्कृतिक कार्यक्रममा उनले गीत गाउने गरेका थिए । गीत गाउने कलाका धनी खत्रीले नेपाली कला र संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै भविष्यमा अरु नयाँ गीतहरु पनि गाउने बताए । युट्युवमा उनको गीत तलको लिङ्क लगइन गरेर हेर्न सकिन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार