बासुरीमा भविष्य खोज्दै नविन ः लक्ष्य बासुरी बादक,आर्थिक अवस्था बाधक

धु्रबसागर शर्मा
म्याग्दी मंगलबार मा २९ गते । म्याग्दीको बेनी बजारमा संचालित म्याग्दीकाली एफएमको प्राविधिक कक्षमा विभिन्न स्केलका १२ ओटा बासुरीबाट सुरिलो धुन निकाल्दै गरेका १६ वर्षिय एक युवा बासुरीमा भविष्य खोज्दै दिनरात मिहिनेत गरिरहेका भेटिन्छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण विहान बेलुकी रेडियोमा प्राविधिकको काम गरेर दिउँसो कलेजमा अध्ययन गर्ने बेनी नगरपालिका ६ अर्थुङ्गेका नबिन बानियाँको पेसा रेडियो प्राविधिकको भएपनि उनको चेष्टा कुशल बासुरी बादक बनेर चिनिने रहेको छ ।

८÷९ वर्षको उमेर देखिनै बासुरीमा ‘टक’ बसेपछि बासुरीबाट नै ‘लक’ (भाग्य) चम्काउने ध्याउन्नमा बानियाँ लागेका छन् । बासुरीका प्वालहरुमा हात चल्न थालेपछि भोक र निद समेत विर्सिने गरेको बताउने बानियाँको बासुरी मोह कम रोचक छैन ।

‘म आठ वर्षको थिएँ’ बानियाँले आफ्नो अतितलाई खोतल्दै भन्न थाल्नुभयो ‘मेरो मामा नारायण पौडेल उकाली ओराली गर्दा बाँसुरी बजाउँदै हिड्नुहुन्थ्यो,त्यो बाँसुरीको धुनले मलाई सारै लोभ्याउथ्यो । एक दिन मामाको बासुरी चोरेर बजाउँदैगर्दा आमाको कुटाइ खाएँ । त्यही कुटाइले मलाई झन बासुरीको नजिक धकेल्यो र म एक दिन कुशल बाँसुरी बादक बनेर देखाउने प्रतिज्ञा गरें ।’मामाको बासुरी चोर्दा खाएको आमाको कुटाइ नै बानियाँका लागि बासुरी बजाउने गजबको उर्जा बन्यो । म्याग्दीकाली एफएमका कार्यक्रम संचालक समेत रहेका बानियाँ झोलामा कितावसंगै बासुरी बोकेर हिड्न थाल्नुभयो ।

बासुरीमा मन त थियो तर अरु स्केलका बासुरी किन्नका लागि बानियाँसंग धन थिएन । एउटा सानो बाँसुरी बजाएर मात्र कुशल बाँसुरी बादक बन्न सकिदैनथ्यो । बानियाँले खाजा पनि नखाइकन पैसा बचत गर्न थाल्नुभयो बासुरी किन्नका लागि । गाउँमा हुने मेला पर्व,उकाली ओराली र स्कुल आउँदा जाँदा बासुरी बजाउँदै हिड्ने बानियाँको बासुरी मोह र कला देखेर कृष्णराज पौडेलले भीडियो खिचेर सामाजिक संजाल युट्युवमा राखिदिनु भयो । त्यो भिडियो हेरेर स्याङ्जा घर भै हाल कोरियामा कार्यरत रन्जित राणाले रु १० हजार पठाइ दिनुभयो । त्यही पैसाबाट बानियाँले विभिन्न स्केलका १२ ओटा बासुरी किनेको बताउनुभयो ।

बानियाँले भन्नुभयो ‘मेरो घरको आर्थिक अवस्था कमजोर छ, कमाइको भरपर्दो माध्यम केही पनि छैन । रन्जित सरले कोरियाबाट पठाइदिएको १० हजार रुपैयाँले बासुरी किनेको छु,अव रात दिन मिहिनेत गरेर नेपालको कुशल बासुरी बादक बन्ने मेरो उद्धेश्य रहेको छ ।’

बानियाँकोउद्धेश्य उनको रुचि र क्षमतासंग मिल्ने खालको रहेको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर एवम् म्याग्दीका लोक गायक अमित विश्वकर्माले बताउनुभयो । ‘नबिन साँच्चिकै प्रतिभाशाली केटा हुन् ।’ विश्वकर्माले भन्नुभयो ‘उनलाई यतिबेला सहयोग र हौसलाको आवश्यकता छ ।’

बानियाँले १२ वटा बासुरीबाट विभिन्न किसीमका धुन निकाल्नु हुन्छ । जस्तोसुकै लयमा पनि बासुरीको धुन निकाल्न सक्नु बानियाँको विशेषता रहेको लोक गायक विश्वकर्माको भनाइ रहेको छ ।

जिल्लामा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा बासुरी बजाएर पहिचान बनाउँदै गरेका बानियाँको प्रतिभालाई मर्न नदिन उनलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग र अवसरको वातावरण मिलाइ दिन आवश्यक देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार