पौलस्त्य मावि अक्षयकोषको प्रथम साधारणसभा

म्याग्दी, आईतबार फागुन १२ गते । म्याग्दीको बेनी नगरपालिका–५, भीरमुनीमा अवस्थित पौलस्त्य माध्यमिक विद्यालयमा स्थापना गरिएको पौलस्त्य मावि अक्षयकोषको शनिबार प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै पूर्व सभासद गोविन्द पौडेलले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउनका लागि सबै समुदाय लाग्नुपर्ने बताएका छन् । उनले शैक्षिक विकासका लागि विद्यालयमा अक्षयकोष स्थापना गरिनु सराह्रनीय काम भएको भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बेनपा–५ का वडा अध्यक्ष लक्ष्मण बानियाँले शैक्षिक वातावरण निर्माणमा सरोकारवालाले ध्यान दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार मिनबहादुर बानियाँ, स्रोतव्यक्तिद्वय डेकबहादुर बानियाँ, मोहन बानियाँ, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बानियाँ, रेडक्रस पुलाचौर उपशाखाका कार्यवाहक सभापति शिव बानियाँ, समाजसेवी देवेन्द्र बानियाँ र पूर्व विद्यार्थी दिनेश बानियाँले मन्तव्य राखेका थिए ।

विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र अक्षयकोषको व्याजबाट विद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन तथा शिक्षामा सहयोग गर्ने उद्देश्यसहित अक्षयकोषको स्थापना गरिएको विद्यालयले जनाएको छ । हालसम्म उक्त अक्षयकोषमा तीनलाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भैसकेको पौलस्त्य मावि अक्षयकोषका सचिव एवं विद्यालयका शिक्षक देवीप्रसाद शर्माले जानकारी दिए । साधारणसभाको अवसरमा ८० हजार रुपैयाँ बढी आर्थिक सङ्कलन भएको छ भने ८ जना नयाँ पूर्ण सदस्यहरु थपिएर अक्षयकोषमा २९ जना पूर्ण सदस्य बनेको उनले बताए ।

साधारणसभाले पुनः गोविन्द बानियाँको अध्यक्षतामा अक्षयकोषको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कोषको उपाध्यक्षमा रेखाकौशल रेग्मी, सचिवमा देवीप्रसाद शर्मा, कोषाध्यक्षमा नवीनप्रकाश बानियाँ र सहसचिवमा बिना बानियाँ रहेका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा दुर्गाबहादुर बानियाँ, गिरेन्द्र बानियाँ, गोर्खबहादुर किसान, सुकमाया परियार, लक्ष्मी बानियाँ र अर्जुन खत्री रहेका छन् ।

साधारणसभामा अक्षयकोषका तदर्थ समिति अध्यक्ष गोविन्द बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कोषका अध्यक्ष बानियाँको अध्यक्षता, सचिव देवीप्रसाद शर्माको सञ्चालन र शिक्षक बिना बानियाँको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार