बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

सन्तोष गौतम
बिम बुधबार फागुन १५ गते । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।

फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुक्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले आयोजनाको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटनका अवसरमा स्थानीयबासीले नाचगान गरेर खुसीयाली मनाएका थिए । पञ्चेबाजा, सोरठी गित र पुख्यौली नृत्यको साथमा नाचगान गरेर खुसीयाली मनाएका हुन् ।

पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको बिम लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाबाट १११ घरधुरी लाभान्वित भएका छन् ।

गाउँपालिका, नेपाल र फिनल्याड सरकारको अनुदान सहयोग र उपभोक्ताको १११ दिनका दरले श्रमदान गरेर आयोजना बनाएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीले जानकारी दिनुभयो ।

बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेखोला मुहानको पानी २४० मिटर माथि रहेको रिजर्भ टंकीमा पु¥याएर घर घरका वितरण गरिएको छ ।

गाउँ भन्दा माथि खानेपानीको स्रोत नभएकाले लिफ्ट प्रबिधिको आयोजना निर्माण गरिएको वडा अध्यक्ष रेशम जुग्गालीले बताउनुभयो ।

उद्घाटन समारोहमा फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सान्ना लिनाले लागत धेरै भएपनि स्थानीयबासीले पाएको सुबिधा र सरसफाईमा आएको सुधारबाट उत्साहीत भएको बताउँदै बिमबासीलाई बधाई दिनुभयो ।

उहाँले खानेपानीसँगै तरकारी खेती गरेर आयआर्जन गर्न स्थानीयबासीलाई सुझाव दिनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष रोकाले खानेपानी सुबिधा विस्तारका लागि मालिकामा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनासँग सहकार्य गरिएको बताउनुभयो ।
परियोजना मार्फत मालिका गाउँपालिकामा ९ वटा खानेपानी आयोजना निर्माण भएको अध्यक्ष रोकाले जानकारी दिनुभयो । निर्माण भएको खानेपानी आयोजनाको दिगो प्रयोग र व्यवस्थापन गर्नु उपभोक्ताको दायीत्व हुने बताउनुभयो ।

वडा अध्यक्ष जुग्जालीले यसअघि बिमको बाइन्दफाँटमा पनि निजी धारा सहितको खानेपानी आयोजना निर्माण गरिएको जानकारी दिदै अन्य बस्तीमा पनि खानेपानी सुबिधा विस्तारका लागि गाउँपालिका मार्फत पहल गरिएको बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुग्जालीको अध्यक्षता, किसानी माविका शिक्षक सुरमान गर्बुजाको सञ्चालन र शिव आधारभुत विद्यालयका शिक्षक प्रेम जुग्गालीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

डेढ वर्षअघि सुरु भएको आयोजना निर्माण कार्य गत महिना सम्पन्न भएको थियो । मालिका गाउँपालिकामै पहिलो पटक लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत वुद्धीराम शर्माले बताउनुभयो ।

आयोजनाको दिगो सञ्चालन र व्यवस्थापनका लागि सबै धारामा मिटर जडान गरि मासिक न्युनतम एक सय रुपैयाँ शूल्क संकलन गर्ने व्यवस्था मिलाएको छ ।

यसअघि गत वर्ष बेनपा ५ डडुवामा सौर्य उर्जाको प्रयोग गरि लिफ्ट प्रबिधिको खानेपानी आयोजना निर्माण भएको परियोजनाका सरसफाई विज्ञ चन्द्रभक्त बिष्टले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार