युवाहरुको उदाहरणीय काम ःसंस्कृति संरक्षणका लागि खेल मैदान निर्माण

धु्रबसागर शर्मा
म्याग्दी बिहिबार फागुन १६ गते । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोट सानालेखको लेखसाइड युवा क्लवमा आवद्ध युवाहरुले परम्परागत संस्कृतिको संरक्षण र खेलकुदको विकास गर्ने उद्धेश्यले गाउँमा खेल मैदान निर्माण गरेका छन् ।


गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानहरुमा अध्ययन वा रोजगारीका लागि गएका युवाहरुबाट सहयोग जुटाएको रु दुईलाख र बाँकी श्रमदान गरेर प्याराफिट सहितको खेल मैदान निर्माण गरेका हुन् ।


युवाहरुले संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष गाउँमा शिवरात्री मेलाको आयोजना गर्दै आएका छन् । यस वर्षपनि फागुन १७ गतेदेखि विशाल शिवरात्री मेलाको आयोजना गरिएको लेखसाइड युवा क्लव सानालेखका उपाध्यक्ष धु्रब थापाले जानकारी दिनुभयो ।


उपाध्यक्ष थापाले दिएको जानकारी अनुसार पाँच दिनसम्म संचालन हुने उक्त मेलामा रत्यौलीगीत प्रतियोगिता,भजन,छेलो,लठो तान्ने,खुल्ला भलिवल लगाएतका प्रतियोगिताहरु आयोजना गरिएको छ ।
कार्यक्रम सम्पन्न गर्नका लागि देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट करिब ५ लाख रुपैयाँ सहयोग प्राप्त भएको उपाध्यक्ष थापाले बताउनुभयो । ‘आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुसीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीहरुबाट स्वतस्फुर्तरुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ’ उपाध्यक्ष थापाले भन्नुभयो ‘यसबाट हामीलाई झन हौंसला मिलेको छ ।’ मेलाको फागुन १७ गते शुक्रवार उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।–––

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार