एकीकरण भए फोरमले सरकार छाड्ने

काठमाडौं शनिबार चैत्र ९ गते । ( संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो।

‘कोही सरकार र कोही प्रतिपक्षमा भएको कारण एकीकरणमा अवरोध हुनुहुँदैन। यो नीतिगत सवाल नभई रणनीति या कार्यनीतिक सवाल मात्र हो,’ फोरम अध्यक्ष उपेन्द्र यादवले राजपालाई पठाएको पत्रमा भनिएको छ, ‘जुन समयसापेक्ष अनुसार परिर्वतन भइरहने हुन्छ।’ दुई पार्टीबीच एकीकरण हुनासाथ सरकार र विपक्षमा कहाँ रहेर काम गर्ने, कस्तो भूमिका निर्वाह गर्नेजस्ता विषयमा एकतापछि गठन हुने एकीकृत पार्टीले निर्णय गर्ने उल्लेख गर्दै पत्रमा भनिएको सम्बन्धमा निर्णय गरे अनुसार हुने गरी एकीकरण प्रक्रिया अघि बढाउन सकिन्छ या आपसी सहमति र समझदारीको आधारमा यस्तो विषय हल गर्न सकिन्छ।’

राजपाले यसअघि फोरमलाई पत्र पठाउँदै ओली नेतृत्वको सरकारबाट बाहिरिएर एकताको वातावरण बनाउन आग्रह गरेको थियो। कोही पार्टी सत्तापक्षीय र कोही पार्टी प्रतिपक्षीय भए एकीकरण हुन सक्छ भन्ने प्रश्न गर्दै राजपाले फोरमलाई लेखेको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक स्थितिमा केन्द्रीय राजनीतिको दुई ध्रुव सत्तापक्षीय र प्रतिपक्षीय पार्टीमा रहेको दुई पार्टीबीच कसरी एकता हुन्छ रु’ चिठ्ठीमा एकीकरणका लागि वातावरण बनाउन पनि फोरम नेपाललाई आग्रह गरिएको छ। चिठ्ठीमा भनिएको छ, ‘फोरमले यथास्थितिवादी पार्टीसँग सहकार्य गरेर देशमा यथास्थितिवादलाई मलजल गर्ने, मनोमानी गर्न उक्साउने र अग्रगमन एवं परिवर्तनकारी शक्तिलाई धम्क्याउने दुस्साहस गर्न पुग्नेगरी दुई तिहाइको संसदीय गणितलाई ग्यारेन्टी गर्ने काम गरिरहेको छ, जुन अत्यन्त दुभाग्र्यपूर्ण छ।’

फोरमले राजपालाई पठाएको पहिलो चिठ्ठीमा सत्तारूढ पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसलाई यथास्थितिवादी पार्टी भन्दै मुलुकलाई परिवर्तन आभास गराउन दुई पार्टी एक हुन आवश्यक रहेको जनाइएको छ। फोरमले नेकपालाई यथास्थितिवादी पार्टी भनी संज्ञा दिएकोमा त्यसको जवाफ दिँदै राजपाले फोरमलाई यथास्थितिवादी पार्टीलाई किन मलजल गरिरहेको भनी उल्टै प्रश्न गरेको छ। पार्टी एकता र अजेन्डामा सम्बोधन गर्न संघीय फोरमले साहसिक निर्णय गर्ने छ भनी राजपाले पठाएको चिठ्ठीमा अपेक्षा गरिएको छ। राजपा स्रोतले भन्यो, ‘साहसिक निर्णय भन्नुको आशय सरकार छाड्न आग्रह गरिएको हो।’

राजपा र फोरमले एक–अर्कोलाई पठाइएका चिठ्ठी दुवै पार्टीका नेताहरूले ‘अत्यन्त गोप्य’ राखेका छन्। अहिले पार्टी एकीकरणका लागि राजपा र फोरम नेपालले एक–अर्कोलाई चिठ्ठी आदानप्रदान गर्दै प्रक्रिया अघि बढाएका हुन्। एकले अर्कोलाई पठाइएको चिठ्ठीमा दुवै पार्टीले एकीकरणका लागि पार्टी तयार रहेको र वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई पूर्णता दिन पार्टी एकीकरण आवश्यक भएको उल्लेख छ।

पार्टी एकीकरणका लागि राजपासँग वार्ता गर्न फोरमले पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा र राजपाले राजेन्द्र महतोको संयोजकत्वमा पाँच–पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ। फोरमले गठन गरेको वार्ता टोलीमा उपाध्यक्ष रकम चेम्जोङ, महासचिव रामसाह यादव, उपमहासचिव प्रकाश अधिकारी र सचिव इस्तियाक राई रहेका छन्। यसैगरी राजपाले गठन गरेको वार्ता टोलीमा बृषेशचन्द्र लाल, केशव झा, सुनिल रोहित र रमेश यादव रहेका छन्। एक जना सदस्य मनोनित गर्न बाँकी रहेको राजपाले जनाएको छ। एक महिनाअघि फोरमले राजपालाई एकीकरणका लागि अनौपचारिक प्रस्ताव गरे पनि चिठ्ठी नै पठाएर औपचारिक प्रस्ताव गरेको यो पहिलो पटक हो। फोरमको प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिँदै राजपाले एक हप्ताअघि फोरमलाई चिठ्ठी पठाएको थियो। नागरिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार