जिल्लामा पोषण तथा स्वास्थ्यको अवस्था सुधार्न १७ बुँदे प्रतिबद्धतापत्र जारी

प्रताप बानियाँ
म्याग्दी, बुधबार चैत २० गते । म्याग्दी जिल्लाको पोषण तथा स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ । सदरमुकाम बेनीमा सञ्चालित जिल्लास्तरीय स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यशाला गोष्ठीको अवसरमा जिल्लास्थित सरोकारवालाहरुले पोषण र स्वास्थ्यको अवस्था सुधार्न प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला समन्वय समिति म्याग्दीको आयोजना र मिलन म्याग्दीको व्यवस्थापनमा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यशाला गोष्ठी उक्त प्रतिबद्धतापत्र जारी गर्दै सकिएको छ । जारी गरिएको प्रतिबद्धतापत्रमा जिल्लाका सबै स्थानीय तहमा पोषण लेखाजोखा तालिम सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरुमा एकदिन बच्चाहरुको स्वास्थ्य वृद्धि अनुगमन कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

यसैगरी १६ पटकभन्दा बढी अनुगमन गरिएको बच्चालाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गर्ने, उत्तर प्रसुती सेवा स्वास्थ्यकर्मीले घरमा पुगेरै उपलब्ध गराउने, पोसिलो खाना प्रदर्शनी तथा जीवनको महत्वपूर्ण घटना मनाउने कार्यक्रमलाई पालिकाहरुबाट निरन्तरता दिने, ब्रुडिङ सेन्टर स्थापनामा सहयोगसहित अण्डा र मासुको उपभोग बढाउन कुखुरापालनमा सघाउने, स्वस्थ बच्चा प्रतिस्पर्धा कार्यक्रम सञ्चालन गर्ने, वडास्तरमा पोषण तथा खाद्यसुरक्षा निर्देशक समिति गठन गर्ने, एक घर एक फिल्टर अभियान चलाउने, बालविवाह न्युनीकरणको अभियान सञ्चालन गर्ने प्रतिबद्धता छन् ।

त्यस्तै स्वास्थ्य आमा समूहको वैठकलाई प्रभावकारी बनाउने, गुणस्तरीय स्वास्थ्यका लागि आफ्नै पहल (साथ) र समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्ड कार्यक्रमलाई प्रवद्र्धन गर्ने, सबै विद्यालयमा महिनावारी स्वच्छतासम्बन्धी अभिमुखीकरण गरी सेनेटरी प्याड निर्माणको तालिम दिने र उत्पादनमा प्रवद्र्धन गर्ने, गाउँघर क्लिनीकमा आवश्यक औषधी तथा उपकरणहरु सघाउने, हरेक वडामा बर्थिङ सेन्टर स्थापना गरी आवश्यक पूर्वाधार र न्युनतम उपकरणसहित स्रोतसाधन सम्पन्न बनाउने, एक घर एक करेसाबारी कार्यक्रम प्रवद्र्धन गर्ने र विद्यालयमा जङ्कफुड (वासीखाना) निषेध गर्ने जस्ता प्रतिबद्धताहरु सार्वजनिक गरिएको छ ।

पालिका अनुसार जिल्लाको मातृशिशु, बालस्वास्थ्य तथा पोषणसँग सम्बन्धित मुख्य सूचकहरुको जानकारी लिने, छलफल गर्ने र आगामी दिनमा थप प्रगतिका लागि कार्ययोजना निर्माण गर्ने, जिल्ला र स्थानीय प्रतिनिधि तथा कर्मचारीहरुसँगको समन्वयमा सुआहाराका गतिविधिहरुको जानकारीका साथै कार्यान्वयन गराउन सहज गराउने उद्देश्यसहित कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य संयोजक, सहसंयोजक र स्वास्थ्यकर्मीहरुले सहभागिता जनाएको गोष्ठीमा पालिकास्तरीय स्वास्थ्यसम्बन्धी कार्ययोजना निर्माण गरी प्रस्तुतीकरण गरिएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जिल्लाको स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउनका लागि सबैले आ–आफ्नो जिम्मेवारीपूर्वक भूमिका निभाउनुपर्नेमा जोड दिएकी थिइन् । जिल्ला समन्वय समितिका सदस्य शेरबहादुर केसीले सङ्घीयता कार्यान्वयनलाई सफल पार्ने मुख्य जिम्मेवारी राष्ट्रसेवक कर्मचारीहरुको रहेको बताउँदै सरकारले ल्याएको नीति, कार्यक्रम तथा बजेटको पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

दुई दिनसम्म चलेको कार्यशाला गोष्ठीमा सुआहारा कार्यक्रमका संयोजक चिरञ्जीवी दाहाल, पोषण तथा व्यवहार परिवर्तनका लागि सञ्चार अधिकृत अमृत पौडेल र मातृशिशु तथा बालस्वास्थ्य अधिकृत शान्ति थकालीले स्वास्थ्य र पोषणसम्बन्धी विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार