बाबियाचौरमा सार्वजनिक सुनुवाई

बाबियाचौर,आइतबार असार १ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा आइतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

मंगला गाउँपालिकाकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको व्यवस्थापन तथा सहजिकरणमा भएको कार्यक्रममा चालू आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा सुनुवाई गरिएको थियो ।

गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी, जनसहभागिता मुलक बनाउन, सेवा प्रवाहमा देखिएका कमी कमजोरी सुधारका लागि गुनासा, सुझाव तथा अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागीहरुले योजनाको विस्तृत अध्ययन गरेर बजेट बिनियोजन गर्न, औपचारिक कार्यक्रम भन्दा देखिने आयोजनामा लगानी बढाउन, लागु औषध दुब्र्यसनी र विकृति न्युनीकरणको पहल गर्न, पालिकामा सञ्चालित गौरवका आयोजनाको अनुगमन, पूजिगत बजेट परिचालनमा सक्रियता, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नीतिगत पहल गर्न, कृषि क्षेत्रलाई प्राथमिकता दिन, उद्योग, ब्यापार, व्यवसायलाई करको दायरामा ल्याउन सुझाव दिएका थिए ।

सहभागीले राखेका प्रश्नको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, इलाका प्रहरी कार्यालय दरवाङका प्रमुख प्रहरी निरिक्षक रामप्रसाद पाण्डे, सम्बन्धीत वडाका जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभएको थियो ।

अध्यक्ष रोकाले सडक, खानेपानी, सिचाई, भवनका साथै समुदायको आर्थिक र चेतना स्तर सुधार गरेर समतामुलक विकासको बाटोमा अघि बढेको बताउनुभयो । उहाँले पालिकाको सबै सडकलाई सुरक्षित, नियमित सवारी चल्ने र दिगो बनाउन प्राथमिकता दिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष केसीले स्थानीय तहमा न्यायिक समिति भएपछि महँगो खर्च गरेर र झञ्जट ब्यहोरेर सदरमुकाम पुग्नुपर्ने धेरै समस्या कम गराएको बताउनुभयो । उपाध्यक्ष केसीले महिला, दलित, जानजाती, जेष्ठ नागरिक, अपाङ्गहरुका लागि पनि कार्यक्रममा समेटेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गौतमले न्युन जनशक्तिका कारण प्रशासनिक र विकासका काममा मात्र केन्द्रित हुनुपरेको बाध्यता सनुाउदै स्थानीय सरकारको अधिकार क्षेत्रका अधिकार क्षेत्रभित्र पर्ने अन्य गतिबिधिलाई पनि समेटेर लैजाने बताउनुभयो ।

उहाँले सेवा प्रवाहका क्रममा समान ब्यवहार भएको र कतै विभेद भए कार्यालयमा आएर गुनासो गर्न आग्रह गर्नुभयो । गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले चालू आर्थिक वर्षका लागि ३२ करोड २७ लाख चार हजार ४५२ रुपैयाँ बजेट बिनियोजन भएकोमा जेठ मसान्तसम्ममा १८ करोड छ लाख ९३६ रुपैँया खर्च भएको जानकारी दिनुभयो ।

पूजीगततर्फ बजेट बिनियोजन भएका १३२ वटा पूर्वाधार योजना मध्य ११६ वटाको सम्झौता भएको र ८७ वटा सम्पन्न भएको जानकारी दिनुभयो । कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका घनश्याम खड्का र सन्तोष गौतमले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार