सरकारी कार्यालयमा प्रशासनको छड्के

म्याग्दी, शुक्रबार साउन २४ गते । बेनी स्थित संघीय सरकार मातहतका कार्यालयहरुको शुक्रबार जिल्ला प्रशासन कार्यालयले छड्के अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको निर्देशनमा सात वटा कार्यालयमा बिहान १०.१० देखि ११ बजेसम्म एकै पटक अनुगमन गरिएको थियो । हाजिरी छड्के एवं सार्वजनिक सेवा प्रवाह तथा सुशासनको अवस्था संग सम्बन्धित विभिन्न सूचकमा केन्द्रित रहेर अनुगमन गरिएको सहायक प्रजिअ महेश सुवेदीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा भेटिएका कमजोरी सुधारका लागि स्थलगत रुपमै निर्देशन समेत दिएको प्रशासनले जनाएको छ । मालपोत कार्यालयका ५, जिल्ला हुलाका एक र नापी कार्यालयका दुई जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएको भेटिएको थियो ।

जिल्ला समन्वय समिति, जिल्ला आयोजना कार्यान्वयन इकाई, कारागार कार्यालय, जिल्ला हुलाक कार्यालय, मालपोत र कोष तथा लेखा नियन्त्रकको कार्यालयमा अनुगमन गरिएको थियो । दरबन्दिको तुलनामा न्युन कर्मचारीको पदपुर्ती हुँदा सेवा प्रवाहमा कठिनाई भएको र कर्मचारीलाई कार्यबोझ भएको पाइएको छ ।

कर्मचारीको उपस्थितिका साथै नागरिक वडापत्र, सूचना अधिकारी, धुम्रपान, मद्यपान, सुर्तिजन्य पदार्थ सेवन निषेध र म भ्रष्ट्राचार गर्न र हुन दिन्न भन्ने प्रतिवद्धता लेखिएको ब्यानर भए नभएको विषयमा अनुगमन गरिएको थियो । प्रदेश र स्थानीय तहका कार्यालयहरुमा पनि छड्के अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार