बेनीमा आउँ पखलाको संक्रमण फैलियो,सतर्कता अपनाउन अनुरोध (भिडियो सहित )

म्याग्दी ,शुक्रबार भदौ ६ गते ।
म्याग्दीको बेनी बजारमा केहि दिन यता देखी आउँ पखलाको संक्रमण फैलिएको छ । मौसम बदलिए संगै पानीको मुहानमा फोहोर मिसिए पछि बजारमा आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालले जनाएको छ ।

गर्मिको समयमा बढी बर्षातका कारण पानीमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको बेनी अस्पतालका मेडिकल जनरलिष्ट डाक्टर नवराज बास्ताकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार बर्षायामको समयमा बढी पानी पर्ने भएकाले पिउने पानीका मुहानमा फोहोर मिसिएकाले आउँ पखलाको संक्रमण फैलिएको हो ।

ल्याब परिक्षण गर्दा विरामीमा रगतमासि संग सम्बन्धीत हिस्टोलिटिका जिवाणु भेटिएको डाक्टर बास्ताकोटीले बताउनुभयो । फोहोर पानी र खानेकुराका कारण आउँ पखलाको संक्रमण हुने उहाँको भनाई छ । अस्पतालमा आउने आउँ पखला संक्रमित विरामीहरुमा हिस्टोलिटिका जिवाणु भेटिएको र एक संक्रमित विरामीको मृगौलामा समेत समस्या देखिएकाले भर्ना गरी उपचार थालिएको बताउनुभयो । दैनिक १५ देखी २० जना विरामीलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले भन्नुभयो ।

बेनी नगरपालिका ७ ,८ मा बढी यो आउँ पखला संक्रमणको विरामी अस्पताल आउने गरेको उहाँले जानकारी दिनुभयो । आउँ पखला संक्रमण हुँदा विरामीलाई वाकवाकी लाग्ने ,विरामीको दिसामा रगतमासी देखिने र विरामीलाई कडा खालको ज्वरो आउने जस्ता लक्षण देखिने डाक्टर वास्ताकोटीले जानकारी दिनुभयो ।

आउँ पखला नियन्त्रणका लागि विशेषगरी सरसफाईमा ध्यान दिनुपर्ने डाक्टर बास्ताकोटीले बताउनुभयो । बर्षायाममा बढी यो रोग फैलिने भएकाले मुहानका पानि सफा राख्ने ,घर वरीपरी सफा गर्ने र खानेपानी उमालेर पिउन मात्र सकेमा आउँ पखला संक्रमणबाट बच्न सकिने उहाँले सुझाव दिनुभयो ।

सुरुमा दुई चार जना विरामी मात्र अस्पतालमा आएपछि त्यसपछि दैनिक २०–२५ जना विरामी अस्पतालमा आउने गरेको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार २ गते ४ जना,३ गते १३ जना ,४ गते १२ जना र ५ गते १२ जना विरामी आएको र ४ गते २० देखी २५ र ५ गते ३५ देखी ४० जना सामान्य संक्रमणका विरामी आउने गरेका छन् ।
दैनिक २० देखी ३० जना विरामी ओपिडीमा आउने गरेको बताउँदै सामान्य संक्रमित विरामीहरुलाई औषधी दिएर पठाउने गरेको र बढी संक्रमित विरामीलाई भर्ना गरी उपचार गरी घर पठाउने गरेको सुचना अधिकारी सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार