अपहरणकारीले आफू भोकै बसेर मलाई खाना खुवाए : अध्यक्ष शाही

दैलेख ,सोमबार पौष ७ गते । अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही दैलेख सदरमुकाम आइपुगेका छन्। शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहको अपहरणमा परेका उनलाई आइतबार साँझ प्रहरीले कालिकोटबाट उद्दार गरेको हो। हिउँमा धेरै हिँडेका कारण उनको स्वास्थ्यमा समस्या देखिएको छ।

पार्टीविरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा अनियमिता गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको विप्लव समूहको भनाइ थियो। यद्यपी आफूलाई अपहरणपछि कुनै दुव्र्यवहार नगरिएको अध्यक्ष शाहीले बताए। उनले भने,‘राजनीतिक मुद्दा हो, हाम्रा कार्यकर्ता छुटाउन दबाब पुगोस् भनेर तपाइँलाई लिएका हौं भन्थे। १८ घण्टासम्म ममाथि राजनीतिक व्यवहार नै गरे, आफू भोकै बसेर भए पनि मलाई खाना खुवाए।’

अपहरणपछि उक्त समूहले आफूलाई सम्मान र राजनीतिक व्यवहार गरेको अध्यक्ष शाहीले बताए। ‘उनीहरुले बारम्बार यो राजनीतिक मुद्दा हो भन्थे, उनीहरुको उदेश्य आफ्ना कार्यकर्ता छुटाउन दबाब दिनु जस्तो लाग्थ्यो।’ उनले आफूलाई जंगलको कठिन र हिउँ परेको बाटोमा हिड्न मात्र निकै कठिन भएको सुनाए। ‘दिन ढल्किदै थियो, कालिकोटको छातीको जंगलमा पुगिसकेका थियौं। एक्कासी प्रहरीले फायर सुरु गर्‍यो, भागदौड मच्चियो। सबै तितरवितर भएपछि मलाई प्रहरीले साथमा ल्यायो।’

उनले आफूलाई प्रहरीले रातारात दैलेख सदरमुकाम ल्याएको बताए। उनलाई अहिले प्रहरीको सुरक्षामा राखिएको छ। केहिदिन जिल्ला सदरमुकाममा बसेर नियमित काममा फर्कने अध्यक्ष शाहीले बताए। आफूलाई कुनै धम्की नदिएको र आफू गाउँ फर्केर काममा जुट्ने बताए।

उक्त घटनापछि जिल्लाको शान्ति सुरक्षामा कडा पारिएको डीएसपी हरिबहादुर ओलीले बताए। यो घटनापछि जिल्लाका सबै जनप्रतिनिधिको सुरक्षाका लागि सतर्क रहेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए। शनिबार राती आफ्नै घरमा सुतिरहेका अध्यक्ष शाहीलाई विप्लव समूहले अपहरण गरेको थियो। अन्नपुर्णपोष्ट्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार