अमेरिकामा कोरोनाबाट एकैदिन १९ को मृत्यु

न्युयोर्क /मंगलबार चैत ०४ गते ।
अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ ।

अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ । १२ जनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ ।

अमेरिकाका ४९ राज्य, वासिंटन डिसी, युएस भर्जिन आइल्याण्ड, पोर्तोरिकोमा कोरोना संक्रमण पुष्टी भइसकेको छ । वेष्ट भर्जिनियामा अहिलेसम्म कसैमा संक्रमित भएको पुष्टी भएको छैन ।

न्युयोर्कमा ९५० संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । न्युजर्सीमा १७८ संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । वासिंटन राज्यमा मृतकको संख्या ४० पुगेको छ ।

सबै अमेरिकन बयस्कलाई १ हजार डलर दिनुपर्ने सिनेटर मिट रोम्नीको प्रस्ताव
कोरोना संक्रमणबाट उत्पन्न आर्थिक अवस्थासँग जुध्न रिपब्लिकन सिनेटर मिट रोम्नीले हरेक अमेरिकी बयस्कलाई एकहजार डलर दिने प्रस्ताव गरेका छन् । काम गर्ने अमेरिकनको आर्थिक स्थायीत्वका लागि रोम्नीको कार्यालयले रुपरेखा तयार गरेको छ ।

अमेरिकी संसदले सन् २००१ र सन् २००८ को आर्थिक मन्दीका बेलामा पनि यस्तै व्यवस्था गरेको रोम्नीले जनाएका छन् । त्यसका अतिरिक्त रोम्नीले प्रभावित साना विजनेशहरुलाई सहयोग उपलब्ध गराउने पनि प्रस्ताव तयार पारेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुसका आर्थिक सल्लाहकार ग्रेक म्यानक्वुले रोम्नीको रुपरेखाको स्वागत गरेका छन् । उनले आफू भएको भए हरेक अमेरिकनलाई तुरुन्तै एकएकहजार अमेरिकी डलर सहयोग गरिसक्ने बताएका छन् ।

यसरी हरेक अमेरिकनलाई एकएकहजार डलर दिंदा कुल रकम ३५० बिलियन हुने पूर्व राष्ट्रपति बराक ओबामाका सल्लाहकार ज्यासन फुर्मानले बताएका छन् ।

अमेरिकामा कोरोना संक्रमितको संख्या ४६६३ पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ । आजै ९८३ मा संक्रमण देखिएको हो भने १८ जनाको मृत्यु भएको हो ।

मेरिल्याण्डमा आज बेलुका ५ बजेदेखि रेष्टुरेण्ट बन्द गरिएको छ । मेरिल्याण्ड गभर्नर ल्यारी होगनले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार, ठूला जमघट बन्दको घोषणा गरेका हुन् । तर रेष्टुरेण्टहरुले डेलिभरी, टेकआउट र ड्राइभ थु्र अफर गर्नसक्ने जनाइएको छ ।
मेरिल्याण्ड राज्यमा पनि ५० भन्दा धेरै व्यक्ति एकठाउमा जमघट हुन प्रतिबन्ध लगाइएको छ । मनोरञ्जन र धार्मिक प्रयोजनका लागि समेत यस्तो जमघटमा प्रतिबन्ध लगाइएको छ ।

यो कार्यकारी आदेश अनिवार्य कार्यान्वयन गर्नुपर्ने गभर्नरले बताएका छन् । मेरिल्याण्डमा कोरोना संक्रमितको संख्या ३७ पुगिसकेको छ ।

५० जनाभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध
न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो, न्युजर्सीका गभर्नर फिल मर्फी र कनेक्टिकटका गभर्नर नेड लामोन्टले यस्तो घोषणा गरेका हुन् ।

यी तीन वटै राज्यहरुमा जीमखाना, क्यासिनो र सिनेमाघरहरु बन्दको घोषणा गरिएको छ । यी सबै आज बेलुका ८ बजेदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।यसैबीच न्युजर्सीमा कर्फयु आदेश जारी गरिएको छ । त्यहाँका बासिन्दाहरुलाई अब बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म यात्रा गर्न प्रतिबन्ध लगाइएको छ ।

न्युजर्सीका गभर्नर फिल मर्फी यस्तो आदेश जारी गरेका हुन् । अत्वाश्यकबाहेकका अन्य काममा अब स्थानीयबासिन्दाहरु घरबाहिर निस्कन नपाउने जनाइएको छ ।

यो प्रतिबन्धबाट कस्तो प्रभाव पर्नेछ भन्ने अहिले नै आकलन गर्न मुस्किल रहेको छ । खासगरी बेलुका ८ बजेपछि काम गर्नेहरुलाई यसले पार्ने प्रभावको आकलन अहिले नै गर्न कठिन छ ।

अमेरिकाको लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार मार्च ३१ सम्म बन्द गरिएको छ । त्यहाँका मेयर एरिक ग्रासेटीले कोरोना संक्रमणबिरुद्ध लड्न यस्तो कदमको घोषणा गरेका हुन् । आइतबार रातीदेखि नै लस एन्जलसका रेष्टुरेण्ट, सिनेमाघर र बार लगायत बन्द गरिएको छ ।

त्यस्तै मंगलबारदेखि न्युयोर्कका कैयन रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् । न्युयोर्कमा मंगलबारदेखि ५० हजार भन्दा धेरै रेष्टुरेण्टहरु बन्द हुने भएका छन्, जहाँ ८ लाख कामदारहरु काम गर्छन् । न्युयोर्कका मेयर बिल ब्लाजिओले भोलि यसबारे एउटा कार्यकारी आदेशमा हस्ताक्षर गर्ने भएका छन् । जस अनुशार मंगलबार विहान ९ बजेदेखि न्युयोर्कका टेकआउट र डेलिभरीबाहेकका रेष्टुरेण्ट र बारहरु बन्द हुने भएका छन् ।

त्यस्तै सिनेमाघर, कन्सर्टस्थल, नाइटक्लब, थियटरहरु पूर्णरुपमा बन्द गरिने भएको छ । आफूले यो निर्णय हलुका रुपमा नगरेको बरु न्युयोर्कले कोरोना भाइरसको कारण भोग्नुपरेको अवस्थाले बन्द गर्नुपरेको उनले बताएका छन् ।

न्युयोर्कका मेयरले सोमबारदेखि विद्यालयहरु बन्दको घोषणा गरका थिए । मेयर ब्लाजिओले भोलिदेखि अप्रिल २० सम्मका लागि न्युयोर्क सिटीका विद्यालयहरु बन्दको घोषणा गरेका छन् । न्युयोर्कमा विद्यालय बन्दको घोषणा नगर्दा शिक्षक र अभिभावकबाट मेयर ब्लाजिओले आलोचनाको सामना गर्नुपरेको थियो ।

मार्च २३ बाटै विद्यार्थीहरुलाई टाढैबाट सिकाउने प्रकृयाको सुरुवात हुनसक्ने मेयर ब्लाजिओले बताएका छन् । khasokhas

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार