कोरोना रोकथामका लागि अन्नपुर्ण गाउँपालिकाद्धारा ७० लाख रुपैयाँको कोष स्थापना , हरेक स्वास्थ्य चौकीमा क्वारेन्टाइन

बेनी ,शनिबार चैत १५ गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सत्तरी लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा बसेको पालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको प्रम्ख प्रशासकीय अधिकृत नविन सुबेदीले बताउनुभयो । गाउँपालिकाका ८ वटै वडामा तीन÷तीन बेड क्षमताको क्वारेन्टाइन स्थापना गरिने भएको छ भने भुरुङ तातोपानीको सर्वोदय माविमा थप आवश्यकता परेकालाई राखिने प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र कोरोनाको जोखिमलाई मध्यनजर गरी गाउँपालिकाा अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा प्रशासकीय अधिकृत सुबेदी, वडा नं २ का अध्यक्ष ओम बहादुर फगामी, कार्यपालिका सदस्य आत्म तुलाचन र स्वास्थ्य संयोजक समुन्द्र बरुवाल सदस्य रहेको एक्सन टिम समेत गठन भएको छ । त्यस्तै अध्यक्ष क्याप्टेन गर्बुजा पुनको ब्यक्तिगत खर्चमा २ वटा र पालिकाले तत्काललाई ७ वटा गरी ९ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) समेत ब्यवस्था गरिएको छ । एक्सन टिमले गाउँपालिका भित्र आवश्यकता परेमा तत्काल सहयोग गर्ने गरी थप निर्णयहरु गर्न सक्ने अध्यक्ष गर्बूजाले बताउनुभयो । गाउँपालिकाले विदेशबाट पछिल्लो एक महिनायता आएकहरुको विवरण र अवस्था संकलन गरी चैत्र १ गते यताकालाई क्वारेन्टाइनमा राख्ने भन्दै तत्काल सम्पर्कमा आउन समेत अनुरोध गरेको छ। .

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार