लकडाउनले रूकुमका ५ सय बढी युवा भारतमा अलपत्र

रुकुम पूर्व,आइतबार बैशाख ०७ गते । दुई जिल्लाको ४ वडाका झन्डै ५ सय बढी युवा भारतका एकै ठाउँमा अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा लकडाउन भएपछि यी सबै युवा कामविहीन बनेका छन् । होटल तथा दैनिक ज्याला मजदुरी गर्नेहरु भारतले एक्कासी गरेको लकडाउनमा परेका थिए ।

भारतको केराला त्रिसुर जिल्लाको बालुरमा रहेका नेपाली युवा । तस्बिर सौजन्यः धनबहादुर खड्का र खड्कबहादुर बुढा ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३ र ४ तथा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको १ र २ नम्बर वडाका युवा भारत केरालाको त्रिसुर जिल्ला बालुरमा छन्। दुई जिल्लाको दुई गाउँपालिकाका यी ४ वडा आपसमा जोडिएका वडा हुन्। कामकाज चलिरहेका बेला लकडाउन भएपछि उनीहरु घर फर्कन पाएनन्। भारत भन्दा नेपालले पछि लकडाउन गरेको थियो। पूर्व सूचना नै नगरी लकडाउनमा परेपछि उनीहरु यता न उता भएका छन्।


सिस्ने गाउँपालिकाको ३ र ४ का ३ सय बढी युवाले त्यहाँ काम गर्थे भने बाँफिकोट गाउँपालिकाका १ र २ का २ सय बढी युवा बालुरमा विभिन्न काम गर्ने गर्दछन्। भारतमा लकडाउन भएदेखि नै उनीहरु कामविहीन बनेका छन्। बसेर खाँदा भएको पैसा पनि सकिएको छ भने सहयोगी पनि कोही छैनन्। होटलमा काम गर्नेहरु भन्दा ज्यालादारी गर्नेहरु थप समस्यामा परेका छन्। कोरोना भाइरस फैलिरहेका बेला एउटै कोठामा १५र१६ जना बस्नुपर्ने बाध्यता छ। चाहेर पनि दूरी कायम गर्ने र सतर्क हुने अवस्था नरहेको उनीहरुले बताएका छन्। स्थानीय ढोका थुनेर घरमा बसेका छन् भने नेपालीहरु भने एउटै कोठामा उकुसमुकुस भएर बस्नुपर्ने अवस्था छ कि त खुला ठाउँमा गएर बस्नुपर्ने बाध्यता छ। बाहिर निस्कँदा प्रहरीले समस्या बनाउने गरेको छ।

‘हामी वरपरका मात्रै ५ सय बढी छौं। काम छैन। रासन पानी पनि सकिन थाल्यो,’ सिस्ने गाउँपालिका–३ का धनबहादुर खड्काले भने, ‘काम भइरहेकै बेला लकडाउन भएपछि घर न घाटको भइएको छ।’ यीमध्ये कति त परिवारसहित छन्। श्रीमान, श्रीमती र छोराछोरी हुनेहरुलाई झन समस्या परिरहेको खड्काले जानकारी दिए। समस्या बढ्दै गएपछि नेपाल सरकार र स्थानीय सरकारले उद्दार गर्छ कि भन्ने आशमा आफूहरु बसिरहेको उनको भनाइ छ। लामो समयदेखि बिना कामै बस्नुपर्दा कमाएको पैसा पनि सकिएपछि गाडी भाडासम्म नभएकाहरु पनि छन्। होटल बन्द छन् भने स्थानीयले पनि काम दिन मानेका छैनन्। होटल बाहेकमा काम गर्नेहरुले बालुरका स्थानीयको दाउरा चिर्ने, रुख काट्ने, चका ९रुख कटहर० टिप्ने, आँप टिप्ने, नरिवल टिप्ने, मरिच टिप्ने, धान काट्ने जस्ता काम गर्ने गर्दछन्। होटल तथा कम्पनीका काम गर्नेहरुले पनि बस्ने सुविधा मात्रै पाइरहेका छन्। घर फर्कने तयारी भइरहेका बेला भएको लकडाउनले समस्या बनाएको बाँफिकोट गाउपालिका–२, का तिलक केसीले बताए।

हिउँदे बाली लगाएर त्यहाँ पुगेकामध्ये अधिकांश हिउँदे बाली भित्र्याउन र वर्षे बाली लगाउने घर आउने गर्दछन्। हिउँदे बाली भित्र्याउने गरी आउने तयारीमा रहेकाहरु लकडाउनमा फसेको केसीले बताए। आफूहरु उद्दार हुने खबरको प्रतिक्षमा रहेको पनि उनीहरुले बताएका छन्। भारतले मार्च २० अर्थात गत चैत्र ७ गतेदेखि लकडाउन गरेको थियो। परिवारका सदस्यहरुले एक महिनादेखि भारतमा अलपत्र परेपछि घरपरिवार पनि चिन्तामा छन्। अर्काको देश कामविहीन बस्दा समस्या बन्दै गएको सिस्ने गाउँपालिका–४, का दलबहादुर बुढाले बताए। फुर्सदको समयमा कमाउन गएकाहरु उल्टै समस्यामा परेपछि हरेक घरपरिवारमा चिन्ता थपिएको बुढाको भनाइ छ। ekantipur

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार