बेनी । म्याग्दीमा प्रहरीले विभिन्न स्थानमा अवैध रूपमा लुकाइराखिएका पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । मातहतका प्रहरी युनिटबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा लुकाइछिपाइ राखिएको अवस्थामा चार थान भरुवा बन्दुक फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
प्रहरीका अनुसार मंगला गाउँपालिका–४, बुकेनीस्थित सामुदायिक वनको बरजा–बुकेनी सडकखण्डको बाटो नजिकै खोचमा लुकाइराखिएको अवस्थामा एक थान बन्दुक बरामद गरिएको छ । उक्त बन्दुक साउन ९ गते बरामद गरिएको हो । त्यसैगरी रघुगंगा गाउँपालिका–३, बादुकस्थित सामुदायिक वनमा साउन १६ गते तीन थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ । रघुगंगा गाउँपालिका–७, चिमखोलास्थित कर्चेखोला वनमा साउन ३० गते थप एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
अवैध बन्दुकसहित प्रयोगकर्ता फेला परेमा कानुनअनुसार ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ । बरामद भएका पाँचै थान भरुवा बन्दुक सम्बन्धित प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।















