नेकपा मंगलाद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

राजकुमार पाण्डे
बावियाचौर,विहिबार वैशाख १८ गते । नेपाल कम्युनिष्ट पाटी (नेकपा)मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्रकोप कोषमा नेकपाले सो सहयोग गरेको हो ।

नेकपा मंगला गाउँपालिका स्तरीय कमिटीका अध्यक्ष प्रेमप्रसाद रेग्मी, सचिब याम बहादुर रोका लगायतले बुधवार सो सहयोग गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमलाई हस्तान्तरण गर्नुभएको थियो । नेकपाले ८० बोरा चामल अति गरिब तथा विपन्न र ज्यालामजदुरी गरि खाने परिवारलाई वितरणको लागि सो सहयोग उपलब्ध गराएको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

सहयोगलाई आबश्यकताको आधारमा सम्बन्धित क्षेत्रमा वितरण गरिने गाउँपालिकाले जनाएको छ । संकटको समयमा गरिब तथा विपन्नको दैनिक खाना खान पाउने अधिकारलाई सुरक्षित गर्ने अभियानमा सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको नेकपा मंगलाका अध्यक्ष रेग्मीले बताउनुभयो । सहयोग लिँदै गाउँपालिका अध्यक्ष रोकाले कोरोना रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाले लिएका निर्णयहरुलाई कार्यान्वयन गर्न समुदायस्तरबाट भएका सहयोगले प्रभाबकारी बनाउन सहयोग पुगेको बताउँदै राहत वितरणको लागि प्राप्त सहयोगलाई सदुपयोग हुने गरि वितरण गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि राज्यले गरेको प्रयासलाई सघाउन पार्टीका सदस्य तथा शुभचिन्तकहरुबाट संकलन गरेर सहयोग गरेको नेकपा मंगला गाउपालिका कमिटिले जनाएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि मंगला गाउपालिकाले तीस लाख रुपैयाँको कोष बनाएको छ । कोषमा अध्यक्ष सतप्रसाद रोकाले एक लाख र उपाध्यक्ष सिर्जना केसीले पचास हजार रुपैयाँ सहयोग गर्नुभएको छ । यसैगरी गाउपालिकाका कर्मचारी र शिक्षकहरुले पनि कोरोना कोषमा यसअघिनै सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार