गाउँपालिका अध्यक्ष भण्डारीद्धारा व्यक्तीगत रुपमा विपन्न परिवारलाई चार लाख रुपैयाँ बढीको खाद्यान्न राहत सामाग्री वितरण सुरु

बेनी ,शनिबार चैत २२ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले विपन्न ,असहाय तथा मजदुर परिवारलाई राहत प्याकेज मार्फत खाद्यान्न सामाग्री वितरण सुरु गर्नुभएको छ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट समस्यामा परेका अति विपन्न ,गरिब तथा असहाय परिवारलाई जिल्लाको रघुगंगा गाउँपालिकाका अध्यक्ष भण्डारीले व्यक्तीगत रुपमा चार लाख रुपैयाँ बढीको राहत प्याकेज वितरण सुरु गर्नुभएको हो ।

शनिबार देखी भण्डारीले गाउँपालिकाका जिन्सि शाखा प्रमुख दयाराम पौडेल ,वडा अध्यक्ष ,प्रहरी र राजनितिक दलका प्रतिनिधिहरुको पस्थितीमा गाउँपालिकाका आठ वटै वडाका विपन्न ,असहाय तथा मजदुर परिवारलाई खाद्यान्न सामाग्री वितरण थाल्नुभएको हो । शनिबार देखी वडा नं १ बेगमा ७५ ,वडा नं ४ दग्नाम दर्मिजामा ३१ ,पाखापानीमा ३५ र वडा नं ५ झिँमा ३० जनालाई वितरण गरिएको राहत वितरण टोलीका सदस्य एवम् नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य केबी भण्डारीले जानकारी दिनुभयो । साथै कुइनेमंगलेमा पनि वितरण गरिएको छ ।उहाँका अनुसार आइतबार पनि राहत सामाग्री वितरण गरिने भएको छ ।

भण्डारीले वितरण गर्नुभएको राहत प्याकेज न्युन आर्थिक आम्दानी भएका विपन्न ,दैनिक ज्यालादारी गरेर जिविकोपार्जन धान्दै आएका मजदुर तथा असहाय परिवारले पाएका छन् । ‘पैसा धैरै भएर नभई लकडाउनका कारण समस्यामा परेका गाउँपालिका भित्र बसोबास गर्ने अति विपन्न ,असहाय लगायत मजदुर परिवारको लगत संकलन गरी व्यक्तीगत रुपमा चार लाख ५० हजार रुपैयाँको दैनिक उपभोग्य खाद्यान्न राहत सामाग्री वितरण गरेको हुँ,’ गाउँपालिकाका अध्यक्ष भण्डारीले भन्नुभयो ।

गाउँपालिकाबाट प्राप्त हुने सेवा सुविधा समेत सामाजिक तथा शैक्षिक क्षेत्रमा खर्च गर्नुभएका भण्डारीले व्यक्तीगत लगानीमा गाउँपालिका भित्रका दुर्गम बस्तिमा सडक विस्तार देखी लिएर विभिन्न सामाजिक कार्य गर्दै आउनुभएको छ । भण्डारीले व्यक्तीगत लगानीमा गाउँपालिका भित्रका विपन्न परिवारलाई स्वास्थ्य विमा समेत गरिदिनुभएको छ ।

यस अघि गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तीस लाख रुपैयाँँको आकस्मिक कोष स्थापना गरेको छ । तत्कालिन प्रमुख प्रशासकिय अधिकृतको सरुवा भएपछि अहिले गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिनको अबस्थामा रहेको कारण आर्थिक कारोबारमा समस्या भएकाले प्रमुख जिल्ला अधिकारी र संघिय मामिला मन्त्रालयमा ध्यानकर्षण गराएको अध्यक्ष भण्डारीले बताउनुभयो ।


अध्यक्ष भण्डारीले भन्नुभयो ‘गाउँपालिकामा आर्थिक कारोबारको बाटो खुलेपछि गाउँपालिकाले स्थापना गरेको तीस लाख रुपैयाँको आकस्मिक कोष र प्रदेश सरकारले पठाएको पाँच लाख रुपैयाँँबाट आवश्यकताको आधारमा खाद्यान्न सामाग्री र औषधी वितरण गर्नेछौं ।’

यसैगरी गाउँपालिकाले विदेशबाट आएर गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बसेर कोरोना नियन्त्रण तथा रोकथाम अभियानमा सहयोग गरेको भन्दै प्रशंसा पत्र दिएर सम्मान गरी विदाइ गरेको छ । अध्यक्ष भण्डारीले दुई लाख ५१ हजार रुपैयाँको घरभाडा मिनाह गरेको घोषणा समेत गर्नुभएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन गरिएको छ । लकडाउनका कारण अतिविपन्न दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्दै आइरहेका मजदुर,असहाय तथा गरिब परिवार यतीखेर समस्यामा छन् ।

कोरोना रोकथाम ,जियन्त्रणका तथा व्यवस्थापनका लागि संघिय ,प्रदेश ,स्थानीय सरकारले कोष स्थापना गर्नुका साथै राजनितिक दल विभिन्न संघसंस्था लगायत व्यक्तीले लकडाउनबाट प्रभावित दैनिक ज्यालादारीका परिवारलाई राहत सामाग्रीहरु वितरण गरिहरेका छन् ।

तस्बिर : वडा अध्यक्ष मनकुमार शेरपुजा ,जिन्सि शाखा प्रमुख दयाराम पौडेल

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार