बेनी नगरपालिकाद्धारा लकडाउनले रोकिएका विकास निर्माणलाई निरन्तरता

बेनी ,शुक्रबार वैशाख १९ गते । म्याग्दीको बेनी नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको जारी लकडाउनमा रोकिएका साना तथा ठुला विकास आयोजनालाई निरन्तरता दिएको छ । नगरपालिकाले शुक्रबार सरोकारवालाहरुसंग छलफल गरेर स्थानीय स्तरमा उपलब्ध मजदुर र उपकरण परिचालन गरेर कोभिड–१९ को मापदण्ड अनुसार सुरक्षा सतर्कता अपनाएर विकास आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो ।

निर्माण कार्यका लागि लकडाउनलाई खुकुलो पारेर आयोजना सञ्चालन गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार नगर क्षेत्रमा नगरपालिका, प्रदेश र संघीय सरकारले सञ्चालन गरेका आयोजनाहरुलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

छलफलमा प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बाहिरका मजदुर नल्याइकन स्थानीय मजदुरलाई सामाजिक दुरी कायम गरि सतर्कताका साथ आयोजना सञ्चालन गर्न सहमति जनाउनुभएको थियो ।

निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गर्ने प्रशासनले जनाएको छ । उपभोक्ता समिति र ठेक्का मार्फत विकास निर्माणलाई निरन्तरता दिदा रोजगारी सिर्जना भएर मजदुर तथा विपन्नहरुको जिविकोपार्जनमा समेत सहयोग पुग्ने प्रमुख प्रशासकीय अधिकृत छवीलाल सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार जिल्ला कमाण्ड पोष्ट र बेनी अस्पतालसंग समन्वय गरेर नगर क्षेत्रको उपयुक्त स्थानमा कोरोनाका शंकास्पद बिरामीको उपचारका लागि आइसोलेशन स्थापना गर्ने निर्णय समेत भएको छ । यसअघि हाल क्वारेन्टिन सञ्चालन भएको न्यु वेष्ट पोइन्ट आवासीय माविको भवनमा आइसोलेशन स्थापना गर्ने निर्णय करिब तीन हप्तासम्म कार्यान्वयन हुन सकेको छैन् । विद्यालय सञ्चालकलाई अभिभावकहरुको दवावका कारण पछि हटेपछि निर्णय कार्यान्वयन हुन नसकेको हो ।

कमाण्ड पोष्ट र अस्पतालले छनौट गरेको सार्वजनिक ठाउँमा आइसोलेशन बनाउने प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । छलफलमा गण्डकी प्रदेशका सांसद बिनोद केसी, जिसस प्रमुख देवेन्द्र केसी, लगायत जनप्रतिनिधि, सुरक्षा अधिकारी, कमाण्ड पोष्टका प्रतिनिधि, बेनी अस्पतालका चिकित्सक लगायतको सहभागिता थियो ।

सो अवसरमा बेनी नगरपालिकाले कोरोना रोकथामका लागि गरेका गतिबिधिका बारेमा जानकारी गराइएको थियो । क्वारेन्टिनमा बसेकाहरुको खानपानको व्यवस्थापन, लकडाउनबाट प्रभावितलाई राहत वितरण, एक करोड रुपैयाँको कोष स्थापना, आइसोलेशनको तयारी लगायत कोरोना रोकथामका लागि नगरपालिकाले गरेका गतिबिधिका बारेमा जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार