२५६४ औँ बुद्ध जयन्ती, घरमै बसेर मनाउन आग्रह

काठमाण्डौ ,बिहिवार बैशाख २५ गते । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६४ औँ बुद्ध जयन्ती। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन बुद्ध जयन्ती मनाउने गरिन्छ ।

यो वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न चलिरहेको लकडाउनका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत ठाउँमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर पूजालगायत विधि मात्र पूरा गर्ने भएका छन् । सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

lumbini

यसैबीच सरकारले आज बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन आह्वान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती तथा कोरोना भाइरसविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकप्रति सम्मान, सङ्क्रमितको शीघ्र स्वास्थ्य लाभको कामना र ज्यान गुमाएकाको शान्तिका लागि आज बेलुकी सात बजे घरघरमा दिपावली गर्न आग्रह गर्नुभएको हो ।

यसैबीच आज चण्डी पूर्णिमा अर्थात् किराँत राई समुदायले मनाउने उभौली पर्व । उभौली पर्वमा भूमेस्थानमा पूजा गर्ने गरिन्छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ । गर्मी सुरु हुने भएकाले मानिस बेँसीबाट लेकतिर अर्थात् उँभो लाग्ने भएकाले चण्डी पूर्णिमाको दिन उभौली पर्व मनाउने गरिएको सँस्कृतिविद्हरुले बताउने गरेका छन् ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । आजको दिन चण्डी नाच नाचिने भए पनि यसपटक लकडाउनका कारण चण्डी नाच प्रभावित हुने भएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले बुद्ध जयन्ती र उभौली पर्वको अवसरमा शुभकामना दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार