तीन दिनदेखी मोवाइल र इन्टरनेट अवरुद्ध

मुना, बुधबार वैशाख ३१ गते । म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा तीन दिन देखी मोवाइल र इन्टरनेट सेवा अवरुद्ध भएको छ । धवलागिरी गाउँपालिकाको मुदी गाउको डाँडामा रहेको नेपाल टेलिकमको मोवाइल र इन्टरनेट सेवाको टावरमा आइतबार बिहान परेको चट्याङले क्षती पु¥याएपछि मोवाइल र इन्टरनेट अवरुद्ध भएको हो ।

टावरमा क्षति पुगेपछि गाउँपालिकाको केन्द्र मुना लगायत तीन वटा वडामा पूर्ण रुपमा सञ्चार सेवाबाट बिच्छेद भएका गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो । लुलाङ, खोरीया, लमसुङ, मुना, फलीयागाउँ, दर, मुदी, खिवाङ, नेरवाङ, नाउरा, बगर, चेचुङमा मोवाइल फोन सेवा अवरुद्ध भएको हो । सोही ठाउँमा मोवाइलसँगै इन्टरनेटको टावर स्थापना गरेर गाउपालिकाको कार्यालयमा इन्टरनेट सेवा विस्तार गरिएको थियो ।

‘‘मोवाइल र इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउपालिकाको सेवा प्रवाहमा समेत असर परेको छ,’’ अध्यक्ष पुनले भन्नुभयो ‘लेखा, प्राबिधिक र सूचना आदानप्रसादका काम प्रभावित भएको छ ।’ इन्टरनेट आवश्यक पर्ने सेवा प्रवाह रोकीएको कर्मचारीहरुले बताएका छन् ।

कर्मचारीहरुलाई टावरमा पठाएर निरिक्षण गरि क्षतिको बारेमा नेपाल टेलीकमको बेनी र बागलुङ स्थित कार्यालयमा जानकारी गराई मर्मतका लागि पहल गरिएको अध्यक्ष पुनले बताउनुभयो । टावर मर्मतका लागि करिब दश दिन लाग्ने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार