समाजसेवी थापाको जन्मदिनमा विभिन्न क्षेत्रमा खाद्यान्न सामग्री सहयोग

थम्मन थापा
बागलुङ ,विहिबार जेठ २२ गते ।
गलकोट नगरपालिका वडा नं ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन । जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी सिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यान्न सहित विभिन्न सामग्री सहयोग गरेका हुन ।

उनले मल्म सिरबारेका अग्नि पीडित जुक्त बहादुर खड्काको परिवारलाई नगद रु १० हजारको सामग्री सहयोग गरेको गलकोट नगरपालिका ७ का वडा सदस्य लोक बहादुर थापाले जानकारी दिए । आपतको बेला थोरै भए पनि राहत होस भनी आफूले सहयोग गरेको सहयोगी थापाले बताए । त्यस्तै सहयोगदाता थापाले १ हप्ता पहिले साउदी अरबमा निधन भएका मल्म आरान टोलका लक्षुमण सुनारको परिवारलाई पनि नगद रु १० हजार बराबरको खाद्यान्न सामग्री चामल, दाल, नुन, तेल, साबुन सहित विभिन्न सामग्रीहरू सहयोग उपलब्ध गराएका थिए । उनले लामो समय देखि थापा जापानमा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका छन् ।

गलकोट समाज जापान क्षेत्रिय समिति कान्साईका अध्यक्ष र सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष समेत रहेका थापा पहिले देखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रियतापूर्वक सहभागिता जनाउँदै आएका छन् । थापाले जनहित माध्यमिक विद्यालय मल्मको क्वारेन्टाइनमा रहेका ६ जनालाई समेत नगद रु ५ हजारको खाद्यान्न सहयोग गरेका छन् । राहत सहयोग हस्तान्तरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार