तराई र पहाडमा सल्कियो सलह ,सलह जम्मा गर्नेलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम

काठमाण्डौं ,आइतबार असार १४ गते ।

‘एक्कासि पूर्वतिरबाट एउटा अपरिचित किराको बथान आकाशै ढाक्ने गरी आयो। साउन वा भदौ हुनसक्छ, मलाई महिना सम्झना त छैन तर एकै छिनमा भएभरको मकै बाली सखाप पारेर उड्यो’, रामेछाप मन्थली, सुनारपानीका बाबुराम पुरीले विगत कोट्याउँदै भने, ‘त्यो त सलह किरा पो रहेछ, त्यसले घाँस पनि बाँकी राखेन।’

तस्बिर : सामाजिक सञ्जाल

अहिले ८० वर्ष पुगेका पुरी त्यो बेला सबैले छारो ९धुलो०, गिटी उठाएर धपाएको सम्झन्छन्। ‘एउटा मकैको बोटमा पचासौं किरा बसेका थिए, कसरी धपाउन सक्नु ,’ उनले भने, ‘त्यो साल सलहले सबै बाली सिद्धाएर अनिकालै लगाएर गयो, त्यसपछि आएन।’

नेपालमा ६० वर्षभन्दा अघि आएको ठानिएको सलह किरा फेरि शनिबार तराई क्षेत्रमा एक्कासि देखापरेको छ। दुई महिनाअघि भारतको महाराष्ट्र क्षेत्रमा अत्यधिक मात्रामा देखिएको यो किरा नेपालमा आउने अनुमान गरिएको थियो। सरकारले यसबारे अध्ययन र नियन्त्रणका उपाय सुझाउन प्राविधिक समिति पनि बनाएको थियो। तर सो समितिले सलह नियन्त्रणमा केही सुझाव दिँदै, अहिलेको वर्ष नेपालमा सलह नआउने निष्कर्षसहितको प्रतिवेदन बुझाएका थियो। तर एकाएक सलह आएपछि त्यो प्रतिवेदनले फेल खाएको छ।

समितिका संयोजक रहेका प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईं प्रतिवेदनले अहिले सलह आउनसक्ने दाबीलाई नकारेको बताउँछन्। उनी भन्छन्, ‘हावाको बहाव यता आएन, त्यसैले नआउन सक्छ भन्ने अनुमान मात्र थियो तर हावाको बहाव यतै फर्कियो, सलह आयो।’

सरकारले गठन गरेको प्राविधिक समितिले यो वर्ष नेपालमा सलह नआउने निष्कर्षसहितको प्रतिवेदन बुझाएका थियो। तर एकाएक सलह आएपछि त्यो प्रतिवेदनले फेल खाएको छ।

सलह आएपछि त्यसबाट प्रभावित जिल्लाका प्राविधिकसहित शनिबार समितिको बैठक बसेको छ। बैठकले सलह नेपालमा असामान्य अवस्थामा देखिएकाले यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर छलफल भएको हुमागार्इंले जानकारी दिए। ‘असामान्य अवस्थामा सलह आएको छ, राजस्थानतिर जानुपर्ने झुण्ड टुक्रिएर यता आएको हुनसक्छ,’ उनले भने, ‘हावाको बहाव पर्सिसम्म सलहकै अनुकूल छ। सलहले क्षति कति गर्छ भन्ने भोलि–पर्सिसम्ममा थाहा हुन्छ।’

हुमागाईंले प्राविधिक समितिले यसअघि नै कार्ययोजनासहित जिल्ला–जिल्लामा सचेत गराएकाले त्यसैअनुसार काम गर्ने बताए। ‘हाम्रो परिस्थिति हेर्दा गर्ने भनेको यसलाई कुनै न कुनै उपाय लगाएर भगाउने नै हो,’ उनले भने,’ यसलाई नियन्त्रण गर्ने विषादी त छ तर प्रयोग हाम्रो अहिलेको अवस्थामा व्यावहारिक देखिन्न।’

सलहको बथान शनिबार बिहान बाराको डुमरवाना र निजगढ क्षेत्र तथा पर्साको गढी नगरपालिका क्षेत्रमा भेटिएको थियो। दिउँसोसम्म प्रदेश २ का धेरै क्षेत्रमा फाट्टफुट्ट सलह देखिए पनि यसले कुनै क्षति नपु¥याएको प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिए। ‘म आफैं बिहानदेखि फिल्डमा खटेको छु, प्राविधिक टोली पनि परिचालन गरेका छौं,’ उनले भने, ‘क्षति पु¥याउने अवस्था नै भए पनि विषादी खरिद गरिसकेका छौं, अहिले धान लगाउने समय भएकाले जमिन खाली हुँदा नियन्त्रण सम्भव छ।’ उनले विषादी स्थानीय तहसँगको समन्वयमा किसानलाई वितरण गर्ने बताए।

प्रदेश २ सँगै प्रदेश ५ मा पनि सलह देखिएको छ। प्रदेश ५ का पहाडी जिल्लामा समेत सलह प्रवेश गरेको छ। कृषि अनुसन्धान परिषद् ९नार्क० का वरिष्ठ वैज्ञानिक डा। सुनिल अर्यालले अहिलेको हावाको बहाव हेर्दा सलह पहाडतिर पनि जान सक्ने बताए। ‘अहिले हावाको बहाव पश्चिमबाट पूर्वोतरतिर गैरहेको बुझिएको छ, त्यसैले सलहका लागि अनुकूल देखिएको छ,’ उनले भने, ‘यो दुई हजार मिटरमाथिबाट पनि उड्न सक्ने हुनाले पहाडमा पनि जान सक्छ।’

अर्यालले नेपालमा देखिएको सलह पिंक रङको वयस्क अवस्थाको भएकाले यो खन्चुवा प्रकृतिको भएको बताए। यो झुण्डको प्रकृति सामान्यभन्दा फरक भएको पाइएको उनले बताए। ‘यसको झुण्ड सानो छ, क्षति कस्तो गर्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन,’ अर्यालले भने, ‘नेपालको हावापानीमा रहेर यसले बच्चा उत्पादन गर्न सक्दैन तर सक्दासम्म उडेर बाली खाने प्रयत्न गर्छ।’

सलह खाएर अघाएको अवस्थामा भने एकै ठाउँमा बस्ने गरेको पाइएको छ। यसलाई नियन्त्रण गर्न राति बास बसेको ठाउँमा गएर विषादी छर्नुपर्ने उनको सुझाव छ। ठूलो आवाज आउने भाँडा बजाएर भगाउने र जालीमा पारेर पनि यसलाई नियन्त्रणमा लिन सकिने अर्यालले बताए। उनले भने, ‘यो किरा साँझ एक ठाउँमा बसेपछि बिहानसम्म कतै जान्न, अन्यत्र जानका लागि मौसम तातेको हुनुपर्छ , त्यही मौका छोपेर यसलाई नियन्त्रण गर्न सकिन्छ।’

यसैबीच भूमि व्यवस्था तथा कृषि सहकारी मनत्रालय प्रदेश ५ ले आन्तरिक मामिला मन्त्रालयसहितको बैठक बसी तत्काल सलह नियन्त्रणको प्रयास थाल्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले भने, ‘अन्यत्रभन्दा प्रदेश ५ मा धेरै सलह आएको पाइयो, हामीले नियन्त्रणका लागि सूचना प्रवाह गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘सलहको झुण्ड गुल्मी, पाल्पातिर पनि लागेकाले सुरक्षित रहन सचेत गराएका छौं।’ सलह नियन्त्रणका लागि प्रोत्साहन रकमको व्यवस्था गरिएको जानकारीसमेत उनले दिए। उनले भने, ‘हामीले स्थानीय तहसँग समन्वय गरेर सलह जम्मा गर्नेलाई प्रतिकिलो २० रुपैयाँका दरले प्रोत्साहन रकम दिने निर्णय गरेका छौं।’ उनका अनुसार प्रोत्साहन रकम लिन सलह संकलन वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ। nagariknews.nagariknetworkबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार