म्याग्दीमा बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २७ पुग्यो ,अझै चार जना बेपत्ता

अमित विश्वकर्मा/साधन राम्जाली
बेनी ,असार शनिबार २७ गते ।

विहिबार रातीदेखी परेको अविरल बर्षापछि शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ ,बिममा गएको पहिरोमा परि हराइरहेका मध्य २६ जना मृत भेटिएका छन् । लापु खोलाले बगाएर रघुगंगा गाउँपालिका–६ ठाडाखानीका ५० बर्षिय नलिमान छन्त्यालको मृत्यु भएको छ ।

पहिरोमा परी ज्यान गुमाउनेहरुमा बिमका बिष्णु पौडेल ,इच्छा पौडेल ,गौदेवी नेपाली ,बिशेष नेपाली ,बिरबहादुर नेपाली ,विष्णु नेपाली र उनकी तीन महिने छोरी निशा नेपाली तथा सन्दिप नेपाली छन् ।
भने त्यसैगरी मराङका सुकना लामगादे ,आशिष लामगादे ,आयुष लामगादे ,आयुषा लामगादे ,रेश्मा सुनार ,मन सुनार ,कमला श्रीपाली ,सुरज श्रीपाली , सुरक्षा श्रीपाली ,जनिमा केसीका १८ बर्षिय छोरा प्रकाश केसी ,तुलबहादुर क्षेत्री , ३३ वर्षकी हीरामति जुग्जाली, ७ की करिष्मा जुग्जाली, ५ की कञ्चन जुग्जाली, ५५ की गौसरा जुग्जाली, २० की दीमा जुग्जाली, ४ वर्षीया दीप्ति जुग्जाली, १ बर्षिय दिवान जुग्जालीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक डाक्टर चौधरीले जानकारी दिनुभयो ।

यसअघि मराङको पहिरोमा बेपत्ता भनिएका अ.४० बर्षिय धनबहादुर जुग्जाली, अन्दाजी १५ वर्षीया रितुकुमारी जुग्जाली, अन्दाजी ५ वर्षीय अर्जुन जुग्जाली भने सम्पर्कमा आएका छन् । पहिरोमा परि धवलागिरी ६, रिखका १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ का कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ का धनबहादुर जुग्जाली, वर्ष ८७ की गौतमी सुनार, वर्ष २२ का दीपक श्रीपाली, वर्ष ७२ का हरि बिटालु घाइते छन् । उनीहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मालिका ७ बस्ने ३६ वर्षीय पूर्णबहादुर नेपाली, धवलागिरी ६ बस्ने २२ वर्षीया मञ्जिता श्रीपाली, वर्ष ७ का सफल श्रीपाली र मालिका ७ ताकमकी ६७ की सतदेवी बिटालुलाई हेलिकोप्टरमार्फत उद्धार गरी पोखरा ल्याइएको हो । गर्भवतीसमेत रहेकी मञ्जिताको ढाँडमा समस्या देखिएको छ । मालिका ६ का बालसिंह रोकाको काठमाडौंको मेडिसिटीमा उपचार भइरहेको छ । बिम र मराङ पहिरोमा परेर घाइते भएका १२ जनालाई नेपाली सेना र युवा व्यवसायी द्धय नारायण जीसि र राजेश शाक्यको निजि खर्चमा प्रभु एयरको हेलिक्प्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको मालिकाको बिम,नौरुङ्ग , दुलेमा तथा मराङको मराङ, कल्लेनी, राम्चे र रिखमा पहिरो गएको हो । पहिरोमा अझै ४ जना बेपत्ता छन् । बीमकी एलिसा केसी, मालिका ६ बस्ने अ. ४१ वर्षकी गीता रोका (खोलाले बगाएको), कल्लेनीकी ५१ वर्षीया जनिमा केसी, वर्ष १६ का सविन पुनको खोजी कार्य जारी छ । अविरल वर्षाका कारण बिहीबार राति घरमाथिबाट खसेको पहिरोमा परेर ठाउँ ठाउँमा गरी ५०÷६० वटा पहिरो गएको धवलागिरी गाउँपालिका वडा ६ का वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । वडाध्यक्ष राजाराम सुवेदी र बिमका वडा अध्यक्ष रेशम जुग्जालीले विपद्को घडीमा सघाउन सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा गएको पहिरोमा अलपत्र परेका र जोखिममा रहेका करिब ८ सय ५० जनालाई सुरक्षीत स्थानमा सारिएको छ । भौगोलिक विकटता ,विभिन्न ठाउँमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र मौसम खराबीका कारण २४ घण्टा पछि मात्रै घाइतेहरुको उद्धार तथा बेपत्ताहरुको खोजी सुरु गरिएको थियो ।

शनिबारमात्र म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, जिल्ला प्रहरी प्रमख प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर लगायत नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली पहिरो गएको क्षेत्रमा पुगी बेपत्ता भएका व्यक्तिको स्थानीय सहयोगमा खोजतलासमा सहयोग गरेको हो । उद्धार कार्यमा स्थानीय जनप्रतिनिधी, युवा क्लब ,तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु पनि खटिएका छन् ।

यसैगरी मराङ्ग र बिमका पहिरो पिडितहरुलाई शनिबार राहत सामाग्री उपलब्ध गराइएको छ । मोना अन्तराष्ट्रिय कार्यसमितिले एक सय थान त्रिपाल र एक सय थान ब्लाङकेट वितरण गरेको उपाध्यक्ष सुर्जे भट्टचनले जानकारी दिनुभयो । ओमकुमारी शान्ति कोषले ५० बोरा चामल र २० प्याकेट तेल लगायतका खाद्य सामाग्री वितरण गरेको छ । उक्त राहतका सामाग्री प्रभु एयरको हेलिकप्टर मार्फत पहिरो प्रभावित क्षेत्रमा पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार