गलकोट सव स्टेशन सुचारु : दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो

थम्मन थापा
बागलुङ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव स्टेशन निर्माण कार्य सम्पन्न गरे सँगै सव स्टेशन मार्फत गत वर्षको साउनमा परिक्षण सुरु गरेको थियो ।

झण्डै ३ महिना सव स्टेशन मार्फत गलकोट र आसपासमा विद्युत सेवा सञ्चालनमा आएको थियो । पछि सव स्टेशनको ट्रान्सफर्मरमा समस्या उत्पन्न भएर पटक पटक लाइन ट्रिप हुन थालेपछि त्यसको मर्मत सम्भार भइरहेको थियो । ट्रान्सफर्मर मर्मत गर्न नेपाल विद्युत प्राधिकरणले बंगलादेश पठाएको छ यद्यपि लामो समय सम्म उक्त कम्पनी बाट न प्राविधिक न सामग्री पठाउने गरे पछि तत्काल ट्रान्सफर्मर मर्मत भएर आउने संकेत नदेखिए पछि विद्युत प्राधिकरणले पुन पुरानै ११ हजार केभिए को लाइन मार्फत विद्युत सेवा सञ्चालन गरेको थियो ।

११ हजार केभिए लाइनमा बीच बीचमा समस्या आउने, प्राकृतिक विपति लगायतका कारण मर्मत गर्दा लाइन काट्नु पर्ने समस्याले उपभोक्ताले हैरानी खेप्नु परेको थियो । अहिले हरिचौर सव स्टेशन सुचारु भएको छ । नयाँ ट्रान्सफर्मर जडान गरेर सव स्टेशनमा मर्मत सम्भारको कार्य सकिए पछि सेवा प्रवाह गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

३३ हजार केभिए प्रसारण क्षमताको लाइन सव स्टेशनमा जडान गरी त्यहाँ बाट अलग अलग फिडर मार्फत विद्युत वितरण गरिएको केन्द्र प्रमुख गोशलीले बताउनु भयो । अब यो क्षेत्रमा पटक पटक विद्युत आउने जाने समस्या धेरै हल हुने उहाको भनाई छ । केन्द्र प्रमुख गोशलिका अनुसार हाइटेन्सन लाइनमा आइपर्ने समस्या र फल्ट छिटो थाहा पाउन अब बागलुङको रामरेखा देखि हरिचौर सव स्टेशन सम्म बीच बीचमा सेक्सन स्विच राख्ने तयारी भइरहेको छ ।

जिल्ला भर यसै आर्थिक वर्ष भित्र केन्द्रिय विद्युत विस्तार गर्न अहिले हरिचौर देखि खर्बाङ सम्म ३३ हजार केभिए क्षमताको लाइन विस्तारको काम भइरहेको छ भनें ११ हजार केभिए क्षमताको लाइन बुर्तिबाङ सम्म पुराइसकिएको छ । केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि बडिगाड गाउँपालिकाको खर्वाङ नजिकै ८ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्यको लागि जग्गा व्यवस्थापन र निर्माण कार्यको टेण्डर प्रक्रिया अगाडि बढिरहेको विद्युत प्राधिकरणले जनाएको छ । गलकोट हरिचौरमा रहेको सव स्टेशन वि।सं २०७२ सालमा निर्माण कार्य सुरु गरिएको थियो ।

३ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्य गत वर्ष नै सम्पन्न भएको थियो । गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो भएको र जिल्लाको सबै भुभगमा विद्युतिकरण गर्न थप २ सव स्टेशन निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले सोही अनुसार गृहकार्य अगाडी बढाइएको नेपाल विद्युत प्राधिकरणले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार