सञ्चारकर्मीमा कोरोना संक्रमण देखिने क्रम बढ्यो

काठमाडौं । कोरोना कहरकै बीच केही दिनअघि प्रहरीले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको भीड । तस्बिरः सामाजिक सञ्जाल
काठमाडौं । काठमाडौं उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोनाभाइरस संक्रमण हुने क्रम बढेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मीपनि धमाधम संक्रमित हुन थालेका हुन् ।
नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् ।

महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

साथै महामारीको यो समयमा आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासंघले विज्ञप्तिमार्फत आम सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।

‘सञ्चार प्रतिष्ठानहरूले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघ आग्रह गर्दछ’, महासंघले भनेको छ । रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार