कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु : मृतकको संख्या १९२ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । गएराति र आज बिहानगरी थप ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ ।

कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्तमाका ६० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

त्यस्तै कास्कीको पोखरामा कोरोना संक्रमणबाट पोखरा महानगर १६ का ५२ वर्षीय पुरुषको आज अस्पतालको गेटमै मृत्यु भयो । उपचारका लागि ल्याइएका ती पुरुषको आइसोलेसन कक्षको गेटमै मृत्यु भएको डा.अर्जुन आचार्यले जनकारी दिए ।

मोरङको विराटनगरमा पनि एक महिलाको मृत्यु भएको छ । कोशी अस्पतालमा उपचारका क्रममा सिरहाको लहान घर भएकी ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको डा।दीपक सिग्देलले जानकारी दिए । ती महिलालाई गएराति अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङकी एक महिलाको आज मृत्यु भएको छ । बेलबारी घर भएकी ५६ वर्षीया महिलाको उपचारका क्रममा बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

चितवनमा कोरोनाका कारण दुई जनाको आज ज्यान गएको छ । चितवनको पुष्पाञ्जली अस्पतालमा आज भरतपुरका ५१ वर्षीय पुरुषको कोरोनाबाट ज्यान गएको छ । ती पुरुषको बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौँडाकी एक ७१ वर्षीया महिलाको मृत्यु भएको छ । डा।दयाराम लम्सालले ती महिलालाई ७ गतेदेखि आइसियुमा राखेर उपचार गरिएको र बिहान मृत्यु भएको जानकारी दिए ।

त्यस्तै झापाको दमकका ८३ वर्षीय पुरुषको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको छ । ती पुरुषको बिहान ४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा।निदेश सापकोटाले जनकारी दिए ।

त्यस्तै भक्तपुरमा पनि ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट गठ्ठाघरकी ती महिलाको नागरिक अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ ।

त्रिवि शिक्षण अस्पताल काठमाडौंमा मृत्यु भएका उदयपुरका एक ५२ वर्षीय पुरुषको पनि कोरोना पुष्टि भएको छ । ती पुरुषको गएको ९ गते अस्पतालमा उपचार सुरु भएसँगै ज्यान गएको थियो ।नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार