कारागारमा कोरोनाको तीव्र संक्रमण

काठमाडौँ । आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउने सुरक्षा निकायका ब्यारेक र चौकीहरूका कोरोना संक्रमण बढेको छ। संक्रमित प्रहरीलाई नियमित काममा परिचालन गर्न नसकिने भएपछि कोरोना संक्रमण फैलिएका कतिपय प्रहरी कार्यालयमा सुरक्षाकर्मी अभाव देखिन थालेको छ। संक्रमण फैलिएका कार्यालयहरूमा अन्तबाट थप प्रहरी पठाउँदा कोरोना सर्न सक्ने भन्दै हेडक्वार्टरले सकेसम्म सम्बन्धित कार्यालयकै प्रहरीले आफ्नो क्षेत्रको सुरक्षा ‘कभर’ गर्नुपर्ने बताएको छ।

सामान्य अवस्थामा सुरक्षा टोली अर्को ठाउँ नपठाउन मातहतका कार्यालयहरूलाई निर्देशन दिएको छ। तर एउटै कार्यालयमा धेरैजनालाई संक्रमण देखिएपछि त्यो क्षेत्रमै सुरक्षा चुनौती बढेको देखिन्छ। प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म देशभर १ हजार ५ सय ६७ जना प्रहरीमा संक्रमण पुष्टि भइसकेको छन्। संक्रमितमध्ये ६ सय ७४ जना निको भइसकेका छन् भने ८ सय ९३ जना विभिन्न ठाउँका आइसोलेसनमा छन्।

हालसम्म हेडक्वार्टरमा ९७ जना, उपत्यकाभरिका अन्य प्रहरी कार्यालयमा २ सय ७८, प्रदेश १ मा २ सय ८, प्रदेश २ मा १ सय २९, बागमती प्रदेशमा ३ सय ४१, गण्डकी प्रदेशमा ६० जना, प्रदेश ५ मा ५२ जना, कर्णाली प्रदेशमा १५ जना र सुदूरपश्चिम प्रदेशमा १३ प्रहरी संक्रमित भएका छन्। तीमध्ये कसैको पनि अवस्था गम्भीर नरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनका अनुसार कार्यालयहरूमा संक्रमण फैलिएपछि उच्च सावधानी अपनाइएको छ।

कतै सुरक्षा व्यवस्थामा असहज हुने अवस्था देखिए नजिकको प्रहरी कार्यालयले त्यस क्षेत्रको सुरक्षामा सहयोग गर्न प्रधान कार्यालयले आग्रह गरेको छ। त्यसबाहेक प्रहरी संख्यामा कमी भए प्रदेश प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिनेछ। हरेक प्रदेश प्रहरी कार्यालयमा दुईवटा गण छन्। संक्रमण फैलिएर सुरक्षा जनशक्ति कम भएका ती गणबाट आवश्यक प्रहरी खटाइनेछ। एउटा गणमा ६ सय बढी सुरक्षाकर्मी छन्। नजिकको प्रहरी कार्यालयमा संक्रमण बढ्यो भने गणकै सुरक्षाकर्मी परिचालन हुनेछ। त्यसका लागि तयारी अवस्थामा रहन प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई निर्देशन दिएको छ। हालसम्म त्यति भयाभह अवस्था नभएकाले सुरक्षामा समस्या नदेखिएको प्रवक्ता कडायतको भनाइ छ। ‘अहिले कुनै पनि कार्यालयका प्रहरीमा संक्रमण भयावह भए नजिकका कार्यालयले हेर्छन्, त्यसका लागि हामीले पूर्वतयारी गरिसकेका छौं,’ उनले भने।

यसअघि कालिमाटी प्रहरी कार्यालयमा पनि नौजनामा एकैपटक संक्रमण देखिएको थियो। त्यतिबेला परिसरको प्रहरी परिचालन भएको थियो। ट्राफिक प्रहरी महाशाखामा संक्रमण देखिएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोली खटाइएको थियो। शनिबार कोटेश्वर ट्राफिक प्रहरी कार्यालयमा कार्यरत नौजना प्रहरीमा संक्रमण देखिएपछि बानेश्वर वृत्तको टोलीले त्यस क्षेत्रमा सुरक्षामा थप साथ दिएको छ। प्रहरी प्रधान कार्यालयले कुनै कार्यालयमा संक्रमण देखिएर सुरक्षा जनशक्ति अभाव भए नजिकको प्रहरी परिचालित हुनुपर्ने जनाएको छ।

कुनै कार्यालयमा पाँचभन्दा बढी प्रहरीमा संक्रमण देखिएको सम्बन्धित शाखा वा कार्यालय बन्द गरिनेछ। त्यस्तै बिदा सकिएर आउने प्रहरीलाई प्रहरी कार्यालयकै क्वारेन्टिनमा १४ दिनसम्म राखिएको छ भने हाललाई प्रहरी कर्मचारीलाई बिदा नदिने निर्णय हेडक्वार्टरले गरेको छ। यसबाहेक प्रहरीका तालिम र क्षमता विकासका सबैखाले कार्यक्रम रोकिएका छन्।

सुरक्षा निकायका ब्यारेक र चौकीमा कोरोना संक्रमण बढेपछि गृह मन्त्रालयले उच्च सावधानी अपनाउन निर्देशन दिएको छ। सुरक्षा निकाय चौबिसै घन्टा शान्ति सुरक्षाका लागि तम्तयार रहनुपर्ने भएकाले संक्रमण बढेपछि सुरक्षा प्रभाव पर्न सक्ने भन्दै गृहले यस्तो निर्देशन दिएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षाकर्मी र कारागार क्षेत्रको सुरक्षामा चासो दिन मातहतका कार्यालयहरूलाई निर्देशन दिइएको बताए। उनले समितिको भर्चुअल बैठकमा गृहमन्त्रीले चिन्ता व्यक्त गरेका र सम्बन्धित कार्यालयहरूलाई सक्दो व्यवस्थापन गर्न निर्देशन दिइएको बताए। ‘सुरक्षा निकाय र कारागार क्षेत्रमा संक्रमण फैलिएको छ। यसबारे हामीले आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन निर्देशन दिएका छौं,’ उनले भने, ‘गृहमन्त्रीज्यूले बैठकमा पनि यस विषयमा बोल्नुभएको थियो।’

कारागारमा जोखिम बढ्यो

यस्तै केन्द्रीय कारागारमा १३ जना संक्रमित भएका छन्। कारागारमा संक्रमति बढेपछि कारागार व्यवस्थापन विभागले उच्च सावधानी अपनाउन निर्देशन दिएको छ। विभागका प्रमुख द्रोण पोख्रेलले कारागारभित्र संयमित र होसियार हुनुपर्ने बताए। उनले भने, ‘कारागारमा भयावह हुन सक्ने डर छ, त्यसकारण समयमै सचेत हुनुपर्छ, यसबारे हामीले आवश्यक सावधानी अपनाउन सहयोग गर्छौं।’ यसबाहेक बाँके जिल्ला कारागारमा आठजना संक्रमित भएका छन्। त्यस्तै, सिरहा कारागारमा सात र सुनसरी कारागारमा आठजना संक्रमित भएका छन्।

गृहमन्त्रीलाई नौबुँदे निर्देशन

आइतबार बसेको राज्य व्यवस्था समितिको भर्चुअल बैठकले सुरक्षा निकाय र कारागार क्षेत्रमा संक्रमण बढेपछि गृह मन्त्रालयलाई नौबँुदे निर्देशन दिएको छ। कारागारको सुरक्षा खटिने प्रहरीको स्वास्थ्य सुरक्षा र उनीहरूको पिसिआर परीक्षण, सुुरक्षा र कोरोना रोकथाममा नयाँ रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्ने, निजी अस्पतालले पिसिआर गर्दा मनपरी शुल्क लिइएको पाइएकाले अनुगमन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ। त्यस्तै महामारीको बेला जनताको जीउज्यानको सुरक्षा र मौलिक हकलाई ख्याल राख्दै उपचारमा सहयोग गर्न पनि समितिले निर्देशन दिएको छ।

गृहमन्त्री रामबहादुर थापाले बोल्ने क्रममा प्रहरी कार्यालयहरूमा संक्रमण फैलिएकोप्रति चिन्ता व्यक्त गरेका थिए। उनले समितिले दिइएको निर्देशनअनुसार महमारी रोकथाममा प्रभावकारी भूमिका निभाउने बताएका थिए। कारागारभित्रै पनि महामारी फैलिएकाले गृहमन्त्रीले सचेत रहन पनि आग्रह गरे। सुरक्षा निकायका ब्यारेकहरूको संक्रमण फैलँदा सुरक्षामै चुनौती आउन सक्ने भन्दै उनले प्रहरी कार्यालयहरूलाई उच्च सावधानी

अपनाउन आग्रह गरेका छन्। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमार्फत प्रहरी संगठनलाई सुरक्षित रहेर काम गर्न गृहमन्त्रीले आग्रह गरेका थिए।

‘संक्रमण फैलिरहे पनि सुरक्षामा कमी हुन दिएका छैनौं’

कुवेर कडायतरप्रवक्ता, नेपाल प्रहरी
प्रहरी कार्यालयहरूमा संक्रमण बढ्नुको कारण के होला र ?

प्रहरीले सधैं नागरिकको साथी भएर काम गर्दै आएको छ। पछिल्लो समय समुदायसँगै विभिन्न ठाउँमा बढेको संक्रमण प्रहरीमा पनि देखियो। सुरक्षामा खटिँदा स्थानीयबाट प्रहरीमा संक्रमण फैलिएको पाइएको छ। कतिपय ठाउँमा प्रहरीले एउटै मेसमा बसेर खानुपर्ने अवस्था थियो। समूहमा बसेर काम गर्दा वा संक्रमित भएको ठाउँमा सुरक्षा दिँदा प्रहरी संक्रमित भएका हुन्। देश र जनताको सेवा गर्दागर्दै केही प्रहरीमा सरेको कोरोना केही ब्यारेकमा पनि फैलियो। अहिले हामीले प्रहरीको स्वास्थ्य सुरक्षामा एकदमै चासो दिएका छौं। प्रहरी आफैं पनि होसियार भएर जिम्मेवारी निभाइरहेको अवस्था छ। पछिल्लो समय ठाउँठाउँमा भेला हुने, भीडभाड गराउने, झगडा गर्ने, नाराजुलस गर्नेलगायत काम भयो। यस्तो अवस्थामा सोही क्षेत्रको सुरक्षामा खट्दा प्रहरीमा संक्रमण बढेको मान्न सकिन्छ।

कार्यालयभित्र काम गर्नेभन्दा बाहिर खटिने प्रहरी बढी संक्रमित भएका छन्, उनीहरूका काममा हौसला दिने र स्वास्थ्य सुरक्षाबारे हेडक्वार्टरले कस्तो भूमिका निभाएको छ  ?

काममा खटिने प्रहरीको मनोबल उच्च राख्ने प्रयास हामीले सधैं गरेका छौं। यस्तो बेला त झन् बढी हौसला चाहिन्छ। यसबाहेक स्वास्थ्य सुरक्षा सामग्री पनि पुग्दो मात्रामा दिएका छौं। संक्रमणको जोखिम देखिएको ठाउँमा पिपिई प्रयोग भएको छ। त्यस्तै भौतिक दूरी कायम राख्ने, काममा खट्दा मास्क, पन्जा, स्यानिटाइजरजस्ता सामग्री प्रयोग भएकै छन्। स्वास्थ्य सुरक्षा सामग्री जहाँजहाँ अभाव भएको छ, त्यहाँत्यहाँ उपलब्ध गराएका छौं। यसबाहेक प्रहरीको जोखिम भत्ता प्रदान गर्ने सम्बन्धमा पनि हामीले चासो देखाएका छौं। जो काममा खटिएको छ, उसको मनोबल गिर्न दिनुहुन्न।

प्रहरी कार्यालयहरूमा जोखिम बढेको छ तर यस्तो बेला प्रहरीको जिम्मेवारी पनि उत्तिकै छ, संक्रमणलाई जित्दै कसरी सुरक्षा व्यवस्थापन भइरहेको छ रु

हामीले शान्तिसुरक्षामा कुनै कमी हुन दिएका छैनौं। कुनै कार्यालयमा संक्रमण फैलियो भने त्यहाँ सिल गर्ने र सतर्कता अपनाउने कार्य भइरहेको छ। हालसम्म १ हजार ५ सयभन्दा बढी प्रहरी संक्रमित भइसकेका छन्। यसमध्ये कतिपय निको भएर काममा फर्किएको अवस्था छ। प्रहरीले संक्रमणसँग जोगिनु एकातिर छ भने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्व निभाउनु अर्कातिर छ। आम नागरिक घरभित्रै बसेको अवस्थामा प्रहरी उहाँकै शान्तिसुरक्षामा खटिएको छ। बेला यस्तै भए पनि ठाउँठाउँमा घटना भएकै छ। त्यहाँ पनि प्रहरीको उपस्थिति छ। नजानेर वा बाध्यतावश काममा खटिँदा प्रहरी संक्रमित भइरहेका छन्।

पछिल्लो सयम सरुवाका क्रममा पनि प्रहरी कार्यालयहरूमा संक्रमण फैलिएको छ, यस्तो बेलामा सरुवा गर्नुपर्ने बाध्यता छ र ?

सरुवा प्रहरीको नियमित प्रक्रिया हो। पछिल्लो समय ४९ जना एसपीको सरुवा भएको थियो। तर, उहाँहरूबाट संक्रमण फैलिएको छैन। अरू सरुवाको काम अहिले भएको छैन। तालिम र बिदा पनि रोकिएका छन्। अहिले सबैजसो प्रहरी काममै खटिएको अवस्था छ। त्यस्तै बिदामा बसेर आउनेहरूलाई पनि हामी सिधै अरूसँग नजिक हुन दिन्नौं। १५ दिन क्वारेन्टिनमा राखेर मात्रै नियमित काममा खटाउने गरेका छौं।

प्रहरी र कार्यालयहरूलाई संक्रमणबाट सुरक्षित राख्न के–के प्रयास भइरहेका छन्  ?

हामीले धेरै नै सावधानी अपनाएका छौं। मेस अलग गरेका छौं। बाहिरी सुरक्षामा खटिनेहरूको समूह बनाएका छौं। एउटा समूह संक्रमित भयो भने पनि अर्को समूह सुरक्षामा खटिन सक्छ। यसबाहेक जो तल्लो तहमा रहेर महत्वपूर्ण भूमिका निभाउने प्रहरी कर्मचारी छन् उनीहरूलाई पनि सक्दो सचेत र होसियार भएर काम गर्न भनेका छौं। यसबाहेक आवश्यकता हेरेर संक्रमण रोकथामका लागि हामी लागिपरेका छौं। कार्यालय र प्रहरीमा संक्रमण फैलिए पनि सुरक्षामा भने कमी हुन दिएका छैनौं।नागरिक न्यूजबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार