काठमाडौं उपत्यकाका नगर प्रमुखहरुको निष्कर्ष : कोरोना नियन्त्रण गर्न कर्फ्यु लगाउनुपर्छ

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा रहेका नगरपालिकाका मेयरहरुको सञ्जाल उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाई गर्नुपर्ने जनाएको छ ।

मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाव दिएको बताए । फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

श्रेष्ठले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्णरुपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिइसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्णरुपमा निषेध नगरी नियन्त्रणमा लिन कठिन हुने पनि प्रमुख श्रेष्ठले बताए । कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए ।

त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए । उपत्यकामा भदौ तीन गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो ।

जसको समय आज (बुधबार) मध्यरातदेखि सकिदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दैछ । नागरिक खबरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार