भारतबाट आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि वडामा थप कडाई

थम्मन थापा
बागलुङ ।गलकोट नगरपालिका वडा नं ७ मल्मका २१ वर्षीय महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्र अर्को सूचना जारी नहुन्जेलथप कडाई गरिएको छ । बिहीबार वडामा बसेको सर्वदलिय सर्वपक्षीय बैठकले भदौ १८ गते राती १२ बजेदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका यातायात, पसल, होटल, रेस्टुरेन्ट, संघ संस्था, उद्योग, व्यवसाय बन्द गर्ने निर्णय गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।

छिमेकी राष्ट्र भारतबाट केही समय पहिले घरमा आएकी त्यी महिला सँगै गलकोट नगरपालिकाका ९५ जनाको भदौ १४ गते स्वाव संकलन गरी पोखरा पठाइएको थियो । उनको क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन थप कडाई गरिएको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ललित मरासिनीले बताउनु भयो ।

वडाबासीको स्वास्थ्य सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै वडामा कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त प्रेस विज्ञप्ती मार्फत सूचना जारी गरिएको नेपाली काँग्रेसका कोषाध्यक्ष टेकनाथ शर्मा गौतमको भनाई छ । वडा भित्र जारी गरिएको अनिश्चितकालीन थप कडाईलाई सबैले पूर्ण रूपमा पालना गरी कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन आवश्यक सहयोग गर्न आम समुदायमा अपिल गरिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष दल बहादुर थापाले उल्लेख गर्नुभयो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यी युवतीलाई नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेशनमा पठाइएको छ । गलकोट नगरपालिका स्वास्थ्य शाखाको संयोजनमा गलकोट प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स मार्फत उनलाई आइसोलेसनमा पठाइएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिनुभयो ।

नगर उपप्रमुख काउचाले गलकोट नगरपालिकामा फेरि कोरोना भाइरसको संक्रमण देखिएकोले नगरवासी सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह समेत गर्नुभएको छ । बैठकमा गलकोट नगरपालिका वडा नं ७ भित्र मध्य पहाडी लोकमार्गमा बाहिरबाट आउने जाने कुनै पनि सवारी साधनले यात्रु चढाउने र ओराल्न नपाउने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ ।

त्यस्तै छिमेकी वडा पाण्डवखानीबाट आउने र जाने गाडीले समेत वडा भित्र यात्रु चढाउन र ओराल्न नपाउने निर्णय गरिएको बताइएको छ । वडा भित्र सञ्चालनमा रहेका यातायात, होटल, पसल, रेस्टुरेन्ट, संघ संस्था, उद्योग, व्यवसाय बन्द रहने गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य पदमा नेपालीले बताउनु भयो । अर्को सूचना प्रकाशित नहुन्जेल सार्वजनिक स्थलहरूमा धेरै मान्छे भिडभाड नहुन, भेला, बैठक, सभा, सम्मेलन, भोज भतेर नगर्न समेत सम्पुर्ण वडाबासीमा अनुरोध गरिएको गलकोट नगरपालिका वडा नं ७ का वडा सदस्य लोक बहादुर थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार