भूँजीखोला बाढी : गृहमन्त्री थापा सहितको टोली ढोरपाटनमा

बागलुङ । गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली बाढी प्रभावित क्षेत्र बागलुङको ढोरपाटनमा पुगेको छ ।जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार गृहमन्त्री सहितको टोली त्यहाँ पुगेको जानकारी प्राप्त भएको छ । ‘गृहमन्त्री ज्यू सहितको टोली आउनुभएको र भर्खर हेलिकप्टर ल्याण्ड भएको भन्ने छ,’ उनले भने,‘को को आउनुभएको छ भन्ने अपडेट आएको छैन ।’ बुधबार राती ढोरपाटन नगरपालिका—९ स्थीत भूँजीखोलामा बाढी आउँदा क्षतिग्रस्त भएको क्षेत्रको अवलोकनका लागि गृहमन्त्री सहितको टोली आएको हो ।

बिहीबार नै बाढी प्रभावित क्षेत्रका लागि उडेका गृहमन्त्री थापा खराब मौसमका कारण हेलिकप्टर ढोरपाटनमा अवतरण गर्न नसकेपछि पोखरामा ल्याण्ड भएका थिए । केही समय पोखरामा कुर्दा पनि मौसम नखुलेपछि साढे १ बजे उनी काठमाडौं फर्किएका थिए ।

बिहीबार दिउँसो ३ बजे नेकपा सचिवालय बैठक बस्ने तय भएकाले थापा पोखराबाटै काठमाडौं फर्किएको थिए । उनी आज ढोरपाटन पुगेका छन् । ढोरपाटन नगरपालिकाका ७, ८ र ९ वडामा बाढीले ठूलो क्षति पुराएको छ ।बाढीले बगाएर मृत्यु भएकाहरुको अहिलेसम्म १४ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । ३८ जना वेपत्ता छन् । पहिचान खुल्नेमा केशमाया विक, करबहादुर विक, जीवन विक र डल्ले विक रहेका छन् । बाढीले ३१ घरमा पूर्ण क्षति पुराएको छ । ७१ परिवार विस्थापित भएका छन् ।

बाढीले बगाएको शवहरु क्षतविक्षत अवस्थामा भेटिएका छन् । भूँजीखोलाको बाढीले बगाएर ल्याएका शव बडिगाड गाउँपालिकाको खोला किनारमा समेत भेटिएका छन् । उद्धारको कार्य अहिले पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख सहितको टोली अहिले ढोरपाटनमै रहेको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार