ढोरपाटन बाढीपहिरो : मृत्यु हुनेको संख्या १९ पुग्यो

बाग्लुङ । गत बुधबारको बाढीपहिरोमा मृत्यु हुनेको संख्या १९ पुगेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–९, भुजीखोलामा आएको बाढीपहिरोमा बेपत्ता दुई महिलाको मंगलबार राति शव भेटिएसँगै मृत्यु हुनेको संख्या १९ पुगेको हो ।

बुधबार राति भुजीखोलाको बाढीले घरहरू बगाएपछिको बागलुङ, ढोरपाटन–९ स्थित लाँकुरीबोट बस्ती ।
बडिगाड गाउँपालिका वडा नं. ६ को खालबजार नजिकै बडिगाड खोला किनारमा ३२ वर्षीया चनी विक र २८ वर्षीया कुमारी विकको शव भेटिएको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । अहिलेसम्म भेटिएका १९ वटै शवको पहिचान भएको छ ।

बाढीपहिरोमा परी अझै १९ जना बेपत्ता छन् । घटनास्थलदेखि झण्डै १ सय किलोमिटर दक्षिणसम्म प्रहरीले खोजी कार्य गरिरहेको छ । गुल्मीको रिडी र स्याङ्जास्थित कालीगण्डकी ए जलविद्युत आयोजनासम्म पुगेर प्रहरी, सशष्त्र र नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ ।

बाढीपहिरोमा परी ८० घर पूर्ण रुपमा र ५१ घर आंशिक क्षति भएका छन् । यहाँको एक मोटरेबल पुल र ३ वटा झोलुङ्गे पुल पनि बगेको छ । सुकुरदुङस्थित सरस्वती आधारभूत विद्यालय र जनचेतना प्राविको भवन बगाएको तथा हेल्थपोस्ट राखिएको स्थानीयको घर भत्केको छ ।

३ वटा लघुजलविद्युत् आयोजनामा पनि क्षति पुगेकाले ध्वस्त भएकोले वडा नं। ७, ८ र ९ का अधिकांश स्थानमा विद्युत् सेवा र टेलिफोनसमेत अवरुद्ध भएको वडा नम्बर ९ का वडाध्यक्ष हरिबहादुर घर्तीले बताए । कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार