पहिरोले सिन्धुपाल्चोकमा दुई गाउँ बगे, एक जनाको शव फेला, कम्तीमा १७ बेपत्ता

सिन्धुपाल्चोक । बाह्रबीसे नगरपालिका–७ घुम्थाङमा शनिबार राति पहिरो जाँदा दुई गाउँका १७ घर बगेका छन् । स्थानीय फड्के खेतबाट खसेको पहिरोले नागपुजेमा सात र भिरखर्कमा १० घर पुरिएका हुन् । नागपुजेमा तीन घर क्षतिग्रस्त छन् ।

नागपुजेमा एक जनाको शव भेटिएको छ भने कम्तीमा १७ स्थानीय बेपत्ता रहेको बाह्रबिसे–७ घुम्थाङका वडा सदस्य वीरबहादुर थापाले जानकारी दिए । उनका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ‘बेपत्ताहरूको खोजी गर्ने प्रयास जारी छ,’ उनले भने ।

घटनास्थल पुगिसकेका इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । ‘एउटा शव भर्खरै फेला परेको छ, पहिचान हुन सकेको छैन,’ उनले भने, ‘यकिन विवरण अझै आइसकेको छैन ।’ स्थानीय र आफन्त, सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेको न्यौपानेले बताए ।

न्यौपाने नेतृत्वको सुरक्षाकर्मीको टोली अहिले भिरखर्कतिर लाग्दै छ । ‘भिरखर्कमा १० घर पुरिएको खबर आए पनि स्थानीय, जनप्रतिनिधिसँग सम्पर्क हुन सकेको छैन,’ उनले भने, ‘सुरक्षाकर्मी पनि पुगिनसकेकाले यकिन विवरण पाउन सकिएको छैन ।’ कान्तिपुरबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार